राधा ( कविता)

ओ मेरो प्रेमी,
तिमीले अँगालेदेखि त हो
मैले आकासको फराकिलो बुझेको
हिउँदमा घामको न्यानो
तिम्रै स्पर्शले हो बुझेको हो
पर्न लागेको झरीको उन्माद
तिम्रै सामिप्यताबाट महसुस गरेको हो मैले
मलाई फूलहरूको पाप लागेन भने
भवँराको सङ्गीतले फक्रिएको देखेपछि
यस्तो लाग्यो
आक्रमण पनि स्वागतयोग्य हुनेरहेछ, कहिलेकाहीँ
मलाई तिम्रै भावुकताको पराकाष्ठा भएर आएको
समयको झरीले रुझायो यसरी
कि मानौँ भिज्न बाँकी केही चिज छैन मसँग
तिमीले मेरा निम्ति
गाएको प्रेमको गीत सुनेपछि यस्तो लाग्यो
सम्बन्धहरू त सम्झौताभन्दा पर रहेछ
सानो बालक जस्तो
लुटुपुटु गरेपछि मेरो काखमा तिमी
मलाई आमाको अनुभूति किन आयो?
खोलेर मनको ढोका मेरो सामुन्ने
तिमीले उदाङ्गो पारिदिएछि
देखेकी हुँ मैले तिमीभित्र प्रेमको रित्तोपना
आत्मियता नपाएर शिथिल भएको मस्तिष्क
हो मैले त्यहीँदेखि त हो
तिम्रो श्रीमानलाई प्रेम गरेको
बुझ मेरो प्रेमिकी श्रीमती एउटा कुरा
म तिम्रो सौता होइन
तिम्रो श्रीमानकी प्रेमिका हुँ
म राधा हुँ
र राधा नै रहिरहने छु युगौँ।

कवि लीला अनमाेल,बिर्तामोड झापा