सत्चालिस लाख आफ्नै लासहरु छिचोलेर
आइ पुगेको छु म- यहाँ सम्म ।

लेखेको कसले हो कुन्नी ?
पानी कागजमा देखेको हुँ पैलो चोटि
आफ्नो मृत्युको मिति २०३३ जेष्ठ १७ ।

लेखेको अरु पनि थियो त्यहाँ-
मैले हिँड्नु पर्ने बाटो
गर्नु पर्ने काम
बाँच्नु पर्ने जिन्दगी
मुख्य कुरो लेखिएको थियो,अझ
चौरासी लाख योनिहरु छिचोलेर आए पछि मात्र
पुनः
म मानिस हुने कुरा ।

यही पछि हो मैले
आफ्नो अरुअरु मृत्युहरु खोज्न थालेको
आफू बाचे-मरें कसरी कसरी सम्झन थालेको ।

एकिनन् हिसाब था’छैन
मरेको छु कतिऔं पटक
अँध्यारोमा- अँध्यारो आँसुले रेटिएर
उज्यालोमा- उज्यालो मुस्कानले चेपिएर
मरेको छु कति कति ?
आफ्नैहरुको नजर नजरमा छेकिएर
आफन्तहरुको पाइला पाइलामा टेकिएर
यकिनन् छैन
कति लाख पटक मरे म
र जन्मिए कति लाख योनिहरु छिचोलेर !?

जुनि लिएको छु कतिकती !
जुलुसको आगो-भुप्रोमा सुरिइ सुरिइ मरेपछि
जात, धर्मको खागो-थुप्रोमा पुरिइ पुरिइ मरेपछि
छिचोलेको छु कतिकती योनि !
भोको धारले रेटिरेटी मारेपछि
दु:खभारले थिचिथिची मारेपछि
थाहा छैन कसरी कसरी
कतिऔं लाख पटक मरें बाँचे हुँला , यहाँसम्ममा
सुख उमंगको फुलले पुरिएर
डाह , अहमको धुलोले पुरिएर ।

याद एकिन छ
आफ्नो मृत्युको
साढे अठ्ठाईस लाख भयङ्कर मृत्युु मरेको हुँ म
२ हजार ६१ माघ ८ मा (विवाह)
र आफ्नै मृत्युको हर्षोल्लासमा
मृत्यु भोज गरेको हुँ अर्को जुनिको जयमा ।

अर्को जुनि
मरे कति कति मोह-भोगको अङ्गालोमा बेरिएर
मरे कति कति सम्बन्धको भङ्गालोमा जेलिएर
मर्नु , कतिपटक
जान-अन्जान अक्षरले घोचिएर
साना-ठुला अंकहरुले थिचिएर
मर्नु- थाहा नहुनु र फेरि मर्नु
श्वासश्वासमा
विस्वासमा/अविश्वासमा
मर्नु कतिकति खुसी-हर्षमा
मर्नु प्रत्येक दिन र वर्षमा ।

मर्नु- जुनि लिनु, पुनः मर्नु
अनेकन-अनेक
देवि-देउताथानमा
स्वाभिमानमा/अभिमानमा
जान-अन्जान
सत्चालिस लाख योनि पार गर्नु र जुनि लिनु
वा, सत्चालिस लाख आफ्नै लासमाथी मुस्काउदै उभिनु
र आफैले आफैलाई
जन्मदिनको शुभकामना भन्नू
र, लज्जालु मुस्कानमा फेरि मर्नु ।

४७ लाख योनिहरु छिचोलेर आइपुगेको छु, यहाँ सम्म
क्रमश:
८४ लाख योनिहरु तर्नु छ
र मान्छेमा एक जुनि मर्नु छ ।।


कवि देवान किराँती हाल ईटहरी सुनसरी