के आत्माको आत्महत्या सम्भव छ ?
जब झरी पर्छ
गोधुली नहुँदै साँझ पर्छ
अहँ भेटिन्न
साँझ र गोधुलीको सिमाना ।
झरीमा गोधुली साँझ पनि
सुन्तले रङ्गमा सजिन्छ
र सुन्तले रङ्गकै सपनाचित्र कोर्छ
उसलाई पत्तै हुन्न
उस्को चित्रले
कहाँ, कतिखेर आत्महत्या गर्छ ।
म घोत्लिन्छु,मनमनै प्रश्न गर्छु,
सोचिरहेछु,
मान्छेहरू किन आत्महत्या गर्छन्
के यो सम्भव छ ?
सुनेकी छु,
आत्मा न जन्मन्छ न मर्छ
अनि,
नजन्मिने आत्माको हत्या कसरी हुन्छ ?
यस्तो पनि सुनेकी छु,
आत्मा अजर अमर हुन्छ
नजन्मिने आत्मा कसरी अमर हुन्छ ?
प्रिय ईश्वर !
के आत्माको आत्महत्या सम्भव छ ?
कवि मिना श्रेष्ठ

