रेडियो बिराटकी प्रबन्ध निर्देशक तथा सञ्चारिका समूह झापाकि अध्यक्ष लिला अनमोल: जसले जेसुकै भनोस्, म महिनावारी बार्दिनँ !!

समय परिवर्तनशील छ । मान्यताहरु परिवर्तन हुँदै छन् । आजजस्तो थिएन हिजो, आजजस्तो हुँदैन भोलि । यसरी समय परिवर्तन नहुँदो हो त आज पनि मृत पतिसँग हामी महिला जिउँदै जलेर खरानी बन्न पर्थ्यो ।

चन्द्रशमसेरले सती प्रथा अन्त्य गरेपछि मात्र हामी महिलाले आफ्नो बाँच्न पाउने अधिकार सुनिश्चित भयो । हामी समाजमा यस्ता थुप्रै कुप्रथाबाट लामो समयदेखि जेलिदै आएका छौं । संस्कारलाई धर्मसँग जोडिदिएर ‘यो गरे यस्तो पापको फल भोग्न पर्छ, त्यो गरे यस्तो’ भन्ने किसिमका तर्कहरु स्थापित गरिदिएर महिलाहरु धार्मिक संस्कारको हिंसामा परेका छन् ।

जतिबेला महिलाहरु शिक्षाबाट बन्चित थिए, उनीहरु मा चेतनाको कमी थियो, नितिनियम र संस्कार केवल पुरुषले बनाउँथे महिलाहरुले केवल कामधन्दा र छोरा छोरी पाउनु हुर्काउनु सिवाय अरु केही गर्न सक्ने अवस्था थिएन । बुहारीहरुले आधा रातदेखि उठेर ढिकीजाँतो गर्नु, पधेरामा पानी भर्न घन्टै हिँडेर पुग्नु, गाइवस्तु चराउनु, जङ्गलमा गएर दाउरोको जोहो गर्नु, घाँसपात गर्नुदेखि हरेक असहज परिस्थिमा पनि महिलाहरु नै जोतिनु पर्ने अवस्था थियो । उनीहरु न पूरा निदाउन पाउँथे, न मीठो मसिनो खान नै, न त कुनै किसिमको रमाइलो ठट्यौली गर्नेबारे सोच्नै सक्थे ।

त्यस्तो समय थियो, महिलाहरु केवल बच्चा पाउने मेसिन र केवल कामदारको हैसियतमा थिए । त्यस्तो अवस्थामा केही बुझ्ने भनिएका पुरुषहरुले महिनावारी हुँदा महिलाहरुको अवस्था कमजोर हुने, शरिरबाट रगत बगिरहने हुँदा छुवाछूतको कुरा झिकिदिएर धर्मसँग जोडिदिए । उनीहरुलाई केही हदसम्म भए पनि केही आराम मिलोस् भनेर केही नीति नियमहरु स्थापित गरिदिए । महिनावारीका बेला निरन्तर रगत बगिरहने हुँदा खानापिना र जहाँ पायो त्यहिँ रगत चुहिने भय हुने हुँदा केही नियमहरु बनाइए । ती नियमहरु सबै त नभनौ कतिपय राम्रा पनि छन् । जस्तो कि पुरुषलाई छुन नहुने, भिन्दै ओछ्यानमा सुत्न पर्ने । यी दुई तर्कहरु निकै प्रभावकारी छन् । महिनावारी भएका बेला लोग्नेभन्दा फरक सुत्नपर्छ भन्ने नियम त्यस्तो बेला शारिरिक सम्पर्क नहोस् भनेर हो । त्यो समयका निम्ति यो नियम जायज थियो । तर, महिनावारीसँगै जोडिएका धेरै नीति नियमहरु महिलाका लागि घातक छन् ।

जस्तो:महिनावारीका बेला गाइको दूध खान नहुने,मेवा खान नहुने, खाटमा सुत्न नहुने, आफुले खाने थालबुटुका बेग्लै हुनपर्ने,आफुले छोएको कसैले खान नहुने, नदि तरेर टाढा जान नहुने, पुरुषका अगाडि पर्न नहुने, भगवानको पुजा आराधना गरे त झन् ठुलै अपराध गरेको हुने । तर, आज आएर पनि हामी महिनावारी वारिरहेकै छौँ । हामीलाई भित्र कतै अझै डर छ कि कुनै पाप लागिहाल्छ कि !

त्यो समय महिलाहरु भित्री कपडा लगाउँदैन थिए । पानीको अभाव थियो । अनि आफुले महिनावारी हुँदा लगाएको कपडा धुइदैनथ्यो । अहिले जस्तो साबुनको जमाना थिएन । मानिस खरानीले नुहाउँथे । लुगा धुन्थे । त्यसो हुँदा भान्सामा फोहोर हुने, रगत चुहिने सम्भावना ज्यादा हुन्थ्यो । महिलाहरु आफैमा दुर्घन्दित हुन्थे  र, पुरुषहरुले ती हरेक कारणले गर्दा यस्ता कुप्रथा स्थापित गरिदिए ।

अर्को एउटा प्रसङ्ग झन् विचित्रको स्थापित छ । पहिलो पटक महिनावारी भएपछि सात दिन घरका छोरीहरु आफ्नो घरबाट टाढा कतै बस्न पर्थ्यो । आफ्नो बुवा र दाजुभाइको अनुहार हेर्न हुँदैन, आफ्नो घरको धुरी हेर्न हुँदैन भनेर टाढाका आफन्तकहाँ पुर्याइन्थो । मसम्म आइपुग्दा पनि त्यो नियम यथावत थियो । तर, म पहिलो पटक महिनावारी हुदा त्यसरी अरुको घरमा जान परेन । आमाले त पठाउन पर्छ भन्नु भएको थियो तर बुवा अलिक समाज बुझेको भएर यस्तो बेला छोरीलाई झन् अरुको घरमा पठाउन हुँदैन भनेर आमालाई सम्झाउनु भएथ्यो । तर, आमा मलाई बुवाले नपठाउनु भएकोमा खुब रिसाउनु भाथ्यो । त्यहाँदेखि मलाई आफू बुझ्ने नभैन्जेलसम्म किन किन आमासँग त्यति भरोसा लाग्दैनथ्यो । अहिले बुझ्दा चेतनाको अभावले उहाँको जिद्दी रहेछ । मसँगैका साथीहरु पहिलो पटक महिनावारी हुँदा सबैले घर छोड्नु पर्यो । तर, बुवाले ‘यस्तो बेला छोरीहरुलाई झन घरमै राखेर आमाहरुले विशेष ख्याल गर्नु पर्छ’ भन्नु हुन्थ्यो । मैले न कुनै भान्सा अलग गर्न पर्यो न कतै टाढा गएर बस्नै पर्यो । तर, छुवाछूतचाहिँ बार्न पर्थ्यो ।

हिजो समय आजकोजस्तो थिएन । साधनश्रोतको कमी थियो । तर, आज धेरै परिवर्तन भइसकेको छ । घरमा हरेक सद्स्यका लागि आ-आफ्ना बेडरुमको व्यवस्थापन छ, ट्वाइलेट बाथरुम अट्याच छन्, कोठा कोठामा । ती परिवारमा महिनावारी भए नभएको पत्तै हुँदैन । तर, जुन परिवार आर्थिक हिसाबले कमजोर छ, त्यहाँ महिनावारी बार्ने चलन अलिक बढी नै देखिन्छ । कतिपयले यो पुरानो मान्यतालाई धर्मसँग जोडेर पनि मान्ने चलन छ । त्यसैले आज पनि कतिपय घरमा महिनावारी हुँदा बार्ने चलन छ । म महिनावारी वार्दिन । श्रीमानबाहेक आफुलाई महिनावारी भएको कसैलाई भन्दिनँ पनि । म मेरा दैनिकीहरु सबै गरिरहेकै हुन्छु । बिसन्चो हुँदा आराम गर्छु । तर, महिनावारी भएकै कारण ‘यो गर्ने त्यो नगर्ने, यो छुने त्यो नछुने, यो खाने त्यो नखाने’ भन्ने छैन ।

आज हरेक घरका छोरीहरु उच्च शिक्षा लिन घर छोडेर बाहिर जान पर्ने अवस्था छ । उनीहरु जहाँ गएका छन्, त्यहाँ एउटै मेसमा खाना खान्छन् । शैक्षिक भ्रमण जाँदा होस् या कुनै धार्मिक ठाउँको अवलोकन भ्रमणमा जाँदा होस्, उनीहरु निसङ्कोच गइरहेकै हुन्छन् । नजाँदा समस्या आफैलाई पर्ने हो । आफू पढेको शैक्षिक संस्थाले उसलाई महिनावारी भएको छ भनेर शैक्षिक कार्यतालिका परिवर्तन हुँदैन । तसर्थ अब हामीले के सोच्न जरुरी छ भने यो एउटा प्राकृतिक प्रकृया हो ।

महिलाका लागि महिनावारी वरदान हो । महिलाको शारीरिक बनोट अनुसार प्रजनन् क्षमताका निम्ति महिनावारी हुनु सुखद कुरा हो । यो सृष्टि संचालनमा महिनावारी प्रकृयाको ठूलो भुमिका रहन्छ । तसर्थ हरेक महिना ठिक ठिक समयमा महिनावारी भए नभएको ख्याल गरी आमा दिदीबहिनीहरुको स्वास्थ्यलाई ध्यान दिनु आवश्यक छ । महिनावारी समस्या होइन, यो त समस्या समाधानको प्रकृया हो ।