४५ देशमा नेपाली ब्राण्ड पुर्याएका झापाका युवा उद्यमी आशिष‘शिलापत्र वर्षउद्यमी २०८२’ चयन
४५ देशमा नेपाली ब्राण्ड पुर्याएका झापाका युवा उद्यमी आशिष‘शिलापत्र वर्षउद्यमी २०८२’ चयन छन् ।
सानो सोचबाट सुरु भएको व्यवसाय कहिलेकाहीँ विश्व बजारसम्म पुगेर देशकै पहिचान बन्छ । आशिष शर्मा त्यस्तै सफल उद्यमका थालनीकर्ता हुन्, जसले ‘निम्बुपानी’ जस्तो साधारण देखिने नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्राण्डमा रूपान्तरण गरेका छन् । यही साहस, नेतृत्व र निरन्तरताका कारण उनी ‘शिलापत्र वर्षउद्यमी २०८२’ चयन भएका छन् ।
यो विधाका लागि पाँच जनाको नाम मनोनयनमा थियो, जसमा शर्मासहित महालक्ष्मी पेन्ट्सका चन्द्रपाक खड्गी, नेपाटपका दीपक श्रेष्ठ, अटो व्यवसायी तथा उद्यमी यमुना श्रेष्ठ र प्रविधि उद्यमी गौरव पाण्डे मनोनयनमा परेका थिए । वर्षउद्यमीका लागि कुल ५१ हजार ५५ मत आएको छ, जसमध्ये शर्मालाई वर्षउद्यमी बनाउन ८२.७० प्रतिशत अर्थात ४२ हजार २ सय २४ जनाले भर्चुअल्ली मत दिएका छन् । यो जितलाई लोकप्रियता मात्र नभएर उनको उद्यमशील यात्राप्रति जनविश्वासको संकेतका रूपमा पनि हेर्न सकिन्छ ।
३४ वर्षे शर्माको नेतृत्वमा सिंगापुर वेभरेजले सानो व्यवसायबाट सुरु भएर आज ४५ भन्दा बढी देशका मुख्य सहरहरूमा आफूलाई विस्तार गरिसकेको छ । जिरु, क्लव सोडा, लोन्डन ड्राई, नेचुरल्स क्यान, निम्बुपानी र फ्रुट जिम्सजस्ता उत्पादनमार्फत कम्पनीले नेपाली स्वादलाई विश्व बजारसम्म पुर्याएको छ । हाल ८६ भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको यस कम्पनीले नेपालमै सफ्ट पेय पदार्थ उद्योगको पहिचान बनाएको छ ।
आशीष शर्माको अर्को उल्लेखनीय उपलब्धि भनेको फोब्र्सको १०० शीर्ष उद्यमीको सूचीमा चार पटकसम्म पर्नु पनि हो । उनी फोब्र्सअन्तर्गत इन्डियाबाट ३ पटक र अमेरिकाबाट १ पटक गरी चार पटक १०० सूचीमा परेका छन् । उनको दृष्टि र नेतृत्व क्षमतालाई विदेशीहरूले पनि नियालिरहेका छन् ।
आशीष शर्माले स्थानीय उत्पादनलाई विश्वस्तरमा पुर्याउन सकिने उदाहरण व्यवहारमै देखाएका छन् । उनको लक्ष्य अझ व्यापक छ । उनी नेपाली ब्राण्डलाई थप मजबुत बनाउँदै नयाँ क्षेत्रमा विस्तार गर्न चाहन्छन् । यस अर्थमा, आशिष शर्मा सफल उद्यमी मात्र नभएर सम्भावनालाई परिणाममा बदल्ने पुस्ताको प्रतिनिधि पनि हुन् ।


