नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जरा अभियान अन्तरगत झापामा क्रियाशिल सदस्यता अध्यावधिक गर्न आग्रह
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जरा अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशिल सदस्यता अद्यावधिक कार्यमा वडा, गाउँ÷नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिको भूमिका महत्वपूर्ण हुने बताउँदै समयमै कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसले गत बैशाख १ गतेबाट शुरु गरेको एकमहिने जरा अभियान सफल पार्न पार्टीका तहगत समितिहरुको महत्वपूर्ण भूमिका हुने बताउँनुभएको हो । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्लाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर सभापतिहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अभियान अब वडातहमा पुगेको बताउँदै समयमै क्रियाशिल सदस्यता अध्यावधिक गर्ने कार्यसम्पादन गर्न आग्रह गर्नुभएको हो ।
अभियानका लागि अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले क्रियाशिल सदस्यता अद्यावधिक गरिसकेपछि प्रत्येक सदस्यको गतिविधि, नीति, सिद्धान्त र विचारप्रतिको प्रतिबद्धता डिजिटल प्रविधिबाटै अनुगमन गर्न सहज हुने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले यसअघि नै वडातहमा खटिनुभएका जिल्ला प्रतिनिधिहरुलाई सम्बन्धित वडामा सहजीकरण र अनुगमन गर्न आग्रह गर्नुभयो । प्रत्येक तहगत समितिहरुसँग समन्वय गरी क्रियाशिल सदस्यता अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन उहाँले प्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।
जिल्ला सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति शेरबहादुर भट्टराइले गर्नुभएको थियो भने सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।
कार्यक्रममा डिजिटल प्रविधिबाट अद्यावधिक गरिने क्रियाशिल सदस्यता र यसको प्रभावबारे जानकारी दिदै सजेश शिवाकोटी र अमृत बास्तोलाले यो युग डिजिटल प्रचारको युग भएको बताउँदै यो प्रविधि नअपनाए प्रचार– प्रसार अधुरो हुने बताएका थिए । क्रियाशिल सदस्यता नवीकरण वैंकको ब्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गरेजस्तै भएको बताउँदै सामाजिक संजालको विवरण अनिवार्य भर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेसले क्रियाशिल सदस्यता अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले प्रारम्भ भएको अभियान अब वडा तहमा सञ्चालन हुनेछ । १५ औं महाधिवेशनलाई लक्षित गर्दै यसअघि क्रियाशील सदस्यता नवीकरण एवं नया आवेदन गरिसकेका र नगरेका सबै जिल्लाहरुमा वडा तहबाट क्रियाशिल सदस्यता अद्यावधिक गर्ने अभियान थालिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको यसअघिको बैठकले वडादेखि केन्द्रसम्मको महाधिवेशनको कार्यतालिका तय गरिसकेको छ । जसअनुसार वडा अधिवेशन भाद्र २ गते, पालिका अधिवेशन भाद्र ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भाद्र १७ गते, क्षेत्रीय अधिवेशन भाद्र २४ गते, एकमात्रै क्षेत्र भएको जिल्ला अधिवेशन भाद्र २४ गते, १ भन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन असोज २ र ३ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते एवं १५ औं केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको छ ।


