नयाँ वर्षको अवसरमा बिर्तामोड चिल्ड्रेन अस्पतालले १५ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
बिर्तामोड, झापा
झापाको बिर्तामोडमा रहेको जिल्लाकै पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन अस्पताल’ ले नयाँ वर्ष २०८३ को अवसर पारेर बालबालिकाहरूका लागि विशेष स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी वैशाख ७ गतेदेखि वैशाख २१ गतेसम्म १५ दिन लामो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिएको हो।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. सुजाता मैनाली आचार्यका अनुसार शिविर अवधिभर बालबालिकाहरूको ओपिडी (OPD) सेवा पूर्ण रूपमा निःशुल्क गरिनुका साथै ल्याब परीक्षण र अन्य स्वास्थ्य जाँचहरूमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो शिविरमा नवजात शिशुदेखि बालबालिकाहरूको स्वास्थ्य परीक्षण बालरोग विशेषज्ञ डा. रुपक आचार्यसहितको अनुभवी टोलीले गर्ने अस्पतालले जनाएको छ।
शिविरमा स्वास्थ्य परीक्षणका अतिरिक्त ल्याब र अन्य प्राविधिक जाँचहरूमा २० प्रतिशत तथा औषधि खरिदमा समेत विशेष छुटको व्यवस्था मिलाइएको छ। अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै स्थानीय तहको सिफारिसमा आउने विपन्न तथा ग्रामीण क्षेत्रका बिरामीलाई जुनसुकै समयमा पनि २० प्रतिशत छुट दिने घोषणा गरेको छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका उपचारको पहुँचबाट बाहिर रहनु नपरोस् भन्ने उद्देश्यले यो शिविरको अवधारणा ल्याइएको प्रशासनको भनाइ छ।
अत्याधुनिक जापानिज प्रविधिका उपकरण, इको र इसीजी सहितको सुविधा सम्पन्न यस अस्पतालले स्थापनाको छोटो समयमै प्रभावकारी सेवा दिँदै आएको छ। बिर्तामोड-१ मा अवस्थित अस्पतालले आगामी दिनमा विभिन्न संघ-संस्था र स्थानीय तहसँगको समन्वयमा जिल्लाका अन्य दुर्गम स्थानहरूमा पनि यस्तै किसिमका स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।त्यस्तै हस्पिटल काे अध्यक्ष लीला मैनालीले पत्रकारकाे परिवार लाई २० प्रतिशत छुटकाे ब्यवस्था रहेकाे जानकारी दिनु भयाे ।त्यस्तै असहाय बिपन्न बर्गकाे लागि पनि स्थानीय तहकाे सिफारिस मा छुटकाे ब्यबस्था गरेकाे जानकारी दिनु भयाे।

