बिर्तामोडमाअनलाइन सट्टेबाजीको आरोपमा तीन व्यक्ति पक्राउ
बिर्तामोड, भदौ २५ । झापामा प्रतिबन्धित अनलाइन सट्टेबाजीको आरोपमा केही महिनाको अन्तरालमा फरक–फरक स्थानबाट व्यक्ति पक्राउ पर्न थालेपछि एउटा प्रश्न फेरि उठेको छ–झापामा अनलाइन जुवाको सञ्जाल कति ठूलो छ र त्यसको आर्थिक जालो कहाँसम्म फैलिएको छ?
बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफे परिसरबाट बुधबार बिहान तीन जना पक्राउ परेपछि यो प्रश्न अझ गम्भीर बनेको छ। विशेष सूचनाका आधारमा प्रहरीले क्याफे परिसरमा निगरानी बढाएर बिर्तामोड–४ का ४१ वर्षीय किरण कन्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाईंलाई पक्राउ गरेको हो। उनीहरूमाथि अनलाइन सट्टेबाजी खेलाउने आरोपमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार उनीहरूबाट सट्टेबाजीमा प्रयोग भएको आशंका गरिएका विद्युतीय उपकरण बरामद भएका छन्। उपकरणको प्रयोग, अनलाइन प्लेटफर्म, आर्थिक कारोबार र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको छ।
यो घटना आफैँमा नयाँ होइन। तर झापा प्रहरीले पछिल्ला घटनामा अपनाएको अनुसन्धानको तरिका भने फरक देखिन थालेको छ। व्यक्ति पक्राउ गरेर मुद्दा चलाउनेभन्दा कसले खेलायो, रकम कहाँबाट आयो, कहाँ गयो, कुन डिजिटल माध्यम प्रयोग भयो र त्यसमा अरू को–को जोडिएका छन् भन्ने प्रश्नतर्फ अनुसन्धान केन्द्रित हुन थालेको देखिन्छ।
त्यस्तै गत वैशाख २७ गते बिर्तामोडका दुई छुट्टाछुट्टै क्याफेबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा मेचीनगर–१० का २७ वर्षीय गंगा गिरी र बिर्तामोड–६ का ३६ वर्षीय भुवन मेचे पक्राउ परेका थिए।गिरी लाइ बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूको बैंक खाताबाट ठूलो रकमको कारोबार भएको खुलेपछि विषय केवल अनलाइन जुवा खेलाउने आरोपमा सीमित रहेन। अनुसन्धान सम्पत्ति शुद्धीकरणको पाटोतर्फ समेत अघि बढ्यो।
सार्वजनिक विवरणअनुसार मेचेको खाताबाट करिब साढे २३ करोड र गिरीको खाताबाट करिब १२ करोड रुपैयाँ कारोबार भएको देखिएको थियो। दुवैको खाताबाट गरी ३५ करोड रुपैयाँभन्दा बढी कारोबार भएको विवरण बाहिरिएपछि झापामा अनलाइन सट्टेबाजीको आर्थिक आयामबारे गम्भीर प्रश्न उठेको हो।
गिरीको हकमा अनलाइन जुवा तथा सट्टेबाजीबाट आर्जन गरेको आरोपमा ९४ लाख १८ हजार ८७४ रुपैयाँ बिगो कायम गरिएको थियो। अदालतले उनलाई धरौटीमा छाडेको थियो भने मेचे पुर्पक्षका लागि कारागार चलान भएका थिए।
यही घटनाले प्रहरी अनुसन्धानलाई एउटा महत्वपूर्ण पाठ दिएको देखिन्छ–डिजिटल जुवा हेर्दा मोबाइलको स्क्रिनमा देखिन्छ, तर त्यसको वास्तविक सञ्जाल बैंक खातामा भेटिन सक्छ।
क्याफेबाट डिजिटल नेटवर्कसम्म
पछिल्लो समय बिर्तामोडका क्याफे तथा सार्वजनिक रूपमा सञ्चालन हुने व्यवसायिक स्थानमा सट्टेबाजीसम्बन्धी गतिविधिमाथि प्रहरीको निगरानी बढेको देखिन्छ। वैशाखमा दुई जना छुट्टाछुट्टै क्याफेबाट पक्राउ परेका थिए भने भदौमा तीन जना वृक्ष क्याफे परिसरबाट पक्राउ परेका छन्।
यसले प्रहरीको सूचना सङ्कलन र लक्षित कारबाहीलाई संकेत गर्छ। यद्यपि पछिल्लो घटनामा पक्राउ परेका व्यक्ति वैशाखमा पक्राउ परेकै समूहसँग जोडिएका हुन् वा अलग–अलग समूहका सदस्य हुन् भन्ने विषय अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुनेछ।
झापामा यसअघि पनि अनलाइन बेटिङसम्बन्धी ठूला घटना सार्वजनिक भएका छन्। २०८० असोजमा दमक–१२ का पिन्टुकुमार साहमाथि विभिन्न बेटिङ एप तथा वेबसाइटमार्फत २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको आरोप लागेको थियो। यसअघि २०७९ सालमा दमकका विभिन्न स्थानबाट प्रतिबन्धित वनएक्स बेटमार्फत सट्टेबाजी खेल्ने–खेलाउने आरोपमा चार जना पक्राउ परेका थिए।
अर्थात् झापामा अनलाइन सट्टेबाजी आज सुरु भएको समस्या होइन। फरक यति हो–पछिल्लो अनुसन्धानले यसको डिजिटल र आर्थिक संरचना पत्ता लगाउने प्रयास गरिरहेको छ।
खड्काको प्राथमिकता : सूचना, अपरेसन र समन्वय
जिल्ला प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक वसुन्धरा खड्का आएपछि झापा प्रहरीको प्राथमिकतामा अपराध नियन्त्रणसँगै सूचना–आधारित कारबाहीलाई जोड दिइएको देखिन्छ। नेपाल प्रहरीको कोशी प्रदेश अभिलेखमा समेत झापा प्रहरीलाई साइबर अपराध, अनलाइन ठगी, स्क्यामिङ, बेटिङ र हुण्डीजस्ता अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको उल्लेख छ। खुला सीमाका कारण हुने चोरी–निकासी, पैठारी तथा लागूऔषध नियन्त्रणका लागि विशेष अपरेसन सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।
खड्काको नेतृत्वमा लागूऔषध नियन्त्रणलाई समेत अभियानकै रूपमा अघि बढाइएको छ। असारमा स्थानीय तहसँगको सहकार्यमा ‘लागूऔषधविरुद्ध झापा अभियान’ सुरु गरिएको थियो। अभियानमा प्रहरीसँगै स्थानीय सरकार, विद्यालय, समुदाय र सामाजिक संस्थालाई जोड्ने प्रयास गरिएको छ।
त्यसैगरी लागूऔषधविरुद्धको विशेष ‘स्वीप अपरेसन’मा एकै चरणमा ४९ जनालाई नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको थियो। पक्राउ पर्नेमा सेवनकर्ता तथा कारोबारी दुवै थिए।
यसबाट झापा प्रहरीले अपराध भएपछि मात्र प्रतिक्रिया दिनेभन्दा जोखिम पहिचान, सूचना सङ्कलन, लक्षित निगरानी र अपरेसनको संयोजन गर्न खोजेको देखिन्छ।
सीमा, तस्करी र अपराधको बदलिँदो स्वरूप
झापा भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले प्रहरीको अर्को ठूलो चुनौती सीमापार अपराध हो। भन्सार छली तथा चोरी–निकासी नियन्त्रणका क्रममा साउन १ देखि १४ गतेसम्म मात्रै करिब १४ लाख ५२ हजार ७८० रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरी विवरण सार्वजनिक भएको छ।
लागूऔषधतर्फ पनि सीमावर्ती क्षेत्रमा लगातार पक्राउ भइरहेका छन्। भदौमा झापा र सुनसरीबाट भारतीय नागरिकसहित लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।
त्यसैगरी गत भदौमा दमकबाट जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको भनिएको सट गनसहित एक युवक पक्राउ परेको घटनाले अपराध अनुसन्धानमा पुराना घटनाको ‘फलोअप’ पनि महत्वपूर्ण हुने देखाएको छ।
सफलता नजिक कि अझै चुनौती?
एसपी खड्काको नेतृत्वमा झापा प्रहरीले पछिल्लो समय गरेका कारबाहीलाई हेर्दा केही सकारात्मक संकेत देखिन्छन्। पहिलो, विशेष सूचनाका आधारमा लक्षित पक्राउ बढेका छन्। दोस्रो, सट्टेबाजी र अनलाइन अपराधलाई केवल ‘जुवा’को रूपमा नहेरी आर्थिक कारोबारसम्म अनुसन्धान विस्तार भएको छ। तेस्रो, लागूऔषध नियन्त्रणमा नियमित गस्तीभन्दा विशेष अपरेसन र समुदायसँगको सहकार्यलाई जोड दिइएको छ। चौथो, खुला सीमासँग जोडिएका अपराधमा चेकजाँच र निगरानी बढाइएको छ।
तर यिनै उपलब्धिले प्रहरी पूर्ण सफलताको नजिक पुगेको निष्कर्ष निकाल्न भने अझै समय लाग्छ। अनलाइन सट्टेबाजीको वास्तविक सञ्जाल, त्यसमा संलग्न मुख्य सञ्चालक, रकम व्यवस्थापन गर्ने व्यक्ति, डिजिटल वालेट वा बैंकिङ माध्यम र सम्भावित सीमापार कनेक्सनसम्म प्रहरी पुग्न सकेमा मात्र पछिल्लो अभियानको वास्तविक सफलता मापन हुनेछ।
झापामा हराएका व्यक्तिको खोजीमा पनि प्रहरीले पछिल्लो एक वर्षमा ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जनालाई फेला पारेको विवरण सार्वजनिक भएको छ। यसले अनुसन्धान र खोजी संयन्त्र सक्रिय रहेको अर्को पक्ष देखाउँछ।
अबको परीक्षा भनेको पक्राउको संख्या होइन, अपराधको जरोसम्म पुग्ने क्षमता हो।
बिर्तामोडका क्याफेबाट सुरु भएको सट्टेबाजी अनुसन्धान बैंक खातासम्म पुगेको छ। बैंक खाताबाट डिजिटल नेटवर्कसम्म पुग्न सक्यो भने झापा प्रहरीको नयाँ अनुसन्धान शैलीले परिणाम देखाउनेछ। त्यही परिणामले एसपी खड्काको नेतृत्वलाई ‘कारबाही गर्ने प्रहरी प्रमुख’ मात्र होइन, सूचनालाई प्रमाणमा, प्रमाणलाई सञ्जालसम्म र सञ्जाललाई कानुनी निष्कर्षसम्म पुर्याउने अनुसन्धानमुखी नेतृत्वका रूपमा स्थापित गर्नेछ।

