पार्टी निर्णय बिना निर्वाचित सभापति हटाउन सक्दैन-डा. प्रकाश शरण महत

फिक्कल इलाम ०३ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता, पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतले पार्टी केन्द्रीय समितिको निर्णय बिपरित कुनैपनी महाधिवेशन हुन नसक्ने बताउनु भएको छ ।
नेपाली काग्रेस इलाम जिल्ला अधिवेशनलाई प्रमुख अतिथिको रुपमा आज फिक्कलमा सम्बोधन गर्दै डा. महतले १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिले भाग नलिएको तथाकथित विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न, र निर्वाचित सभापतिलाई हटाउन नसक्ने भनाई राख्नुभयो ।
सभापतिलाई विशेष अधिवेशनले हटाउन नसक्ने बताउदै नेता महतले राजीनामा दिएको पनि छैन, धारा ४५ अन्तरगत अबिश्वासको प्रस्ताव ल्याइ दुइतिहाई बहुमतले हटाएको पनि छैन, अन्य कुरा पनि नभएको अवस्थामा निर्वाचित सभापतिलाई हटायौ भन्नू भ्रम मात्र भएको नेता महतले बताउनु भयो ।
विशेष महाधिवेशनको नाटक मंचन गर्नेहरुले पार्टीलाई फुटको संघारमा पुर्याएको बताउदै नेता महतले १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिले १५ औं महाधिवेशन गराएर सम्मानजनक बिदाई लिने स्पष्ट पार्नुभयो ।

दुवै तर्फको अधिवेशन सारेर राजनीतिक सहमति या अदालतको फैसला अनुसार अघि बढौ भन्द उहाँहरु (विश्व, गगन) मान्नुभएन । देश जलेर खरानी भएको र आफ्नो सभापति माथी त्यत्रो सांघातिक हमला भएको बेला जस्ले उचायो, त्यही तत्वको प्रभावले गर्दा उहाँहरुले पार्टी मिलाउन चाहनु भएन नेता महतले भन्नुभयो ।
कार्यक्रममा नेका. केन्द्रीय सदस्य एवम कोशी प्रदेश संयोजक गोमा भट्टराई, केन्द्रीय सदस्य एवम संविधानसभा सदस्य महिन्द्रा कुमारी लिम्बु र सुजता परियार, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेपाली कांग्रेस झापाका सभापति कृष्ण हुमागाई, खोटाङ्ग सभापति रोजन राई लगायतका वक्ताहरुले जाल-झेल षडयन्त्रबाट पार्टी कब्जा गर्यौ भनेर मक्ख पर्नेहरुले कार्यकर्ता र जनताको मन जित्न नसकेको गत संसदीय चुनावको नतिजा परिणामले स्पष्ट पारेको धारणा राख्नु भएको थियो ।

नेपाली कांग्रेस इलाम जिल्ला अधिवेशन आयोजक समितिका संयोजक सोनाम छिरिङ्ग काजीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी इलामका अध्यक्ष दिनेश महत लगायतका दलका नेताहरुले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सह संयोजक यमन लामाले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रमको संचालन सचिव कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।
