सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गरेका मोरङको लेटाङका एक व्यक्ति ६ महिनापछि घर फर्किएका छन् । लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई जीवितै घर फर्किएपछि परिवार, छरछिमेक, प्रहरी र अस्पतालका चिकित्सकसमेत आश्चर्यमा परेका छन् ।

पदमबहादुरको गत जेठ २७ गते मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गरेको थियो । तर, अहिले उनी जीवितै घर फर्किएपछि दुर्घटनामा मृत्यु भएका भनिएका व्यक्तिको वास्तविक पहिचानबारे समेत प्रश्न उठेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार २०८३ जेठ २६ गते बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि विराट टिचिङ अस्पताल, बुढीगंगा लगिएको थियो ।

उपचारका क्रममा घाइतेको मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो । मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि पदमबहादुरकी आमाले शव आफ्नै छोरा भएको भन्दै सनाखत गरेकी थिइन् । प्रहरीले आवश्यक कागजी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो ।

परिवारले अन्त्येष्टि गरेपछि दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको थियो । तर, मृतक भनिएका पदमबहादुर नै जीवितै घर फर्किएपछि प्रहरी र अस्पताललाई घटनाको पुनः अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ ।

घटनापछि बिहीबार परिवारलाई कोशी अस्पताल बोलाइएको छ । अब शव सनाखत गर्दाका कागजात फिर्ता लिने तथा दुर्घटनामा वास्तवमै मृत्यु भएका व्यक्तिको पहिचान खुलाउने प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । प्रहरीले शवको तस्बिर र भिडियोका आधारमा मृतकको पहिचान गर्ने प्रयास गर्ने जनाएको छ । बीमाबापत प्राप्त रकमसमेत सम्बन्धित बीमा कम्पनीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ ।

घटनाबारे बुझ्न पदमबहादुरको घर पुगेका इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले आमाले सनाखत गरेपछि सबैले त्यसैलाई आधार मानेको बताए । उनका अनुसार परिवारमा पदमबहादुर जीवितै फर्किएको खुसीसँगै घटनाले उत्पन्न गराएको अन्योल पनि देखिएको छ ।

प्रहरी निरीक्षक साहका अनुसार पदमबहादुरको विवाहपछि श्रीमतीले छाडेर गएकी थिइन् । त्यसपछि उनको मानसिक अवस्था थप कमजोर हुँदै गएको र उनी घर छाडेर हिँड्ने गरेको बताइएको छ । उनी २०८२ माघदेखि घरबाहिर रहेका थिए । घर छाडेर हिँड्दा आफन्तलाई जानकारी नभएकाले उनी कहाँ छन् भन्ने परिवारलाई थाहा थिएन ।

आफ्नै छोराजस्तो देखिएकाले आमाले शवको सनाखत गरेको हुन सक्ने प्रहरी निरीक्षक साहले बताए । पदमबहादुर जीवितै फर्किएपछि दुर्घटनामा मृत्यु भएका भनिएका व्यक्तिको पहिचान कसरी गलत भयो भन्ने विषयमा अब प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएको छ