​

​देबेन्द्र प्रसाईं,बिर्तामोड झापा

दशैँ भन्नेबित्तिकै हाम्रा आँखाअगाडि खुसी, हर्षोल्लास, परिवारको जमघट र मान्यजनको हातबाट लगाइने रातो टीका अनि जमराको तस्बिर नाच्छ। तर, जब घरको मूल खम्बा, आड र भरोसाका प्रतीक—बुबा—नै साथमा हुनुहुन्न, तब दशैँको त्यो उमङ्ग एकाएक मलीन बन्न पुग्छ।

​आज बुबाले यो संसार छाडेर जानुभएको पनि तीन वर्ष बितिसकेछ। समय बग्दै गयो, ऋतुहरू फेरिँदै गए, तर बुबा बिनाका दशैँहरू भने सधैँ खल्लाे, उदास र अधुरा नै रहे। मनले जति नै सम्हाल्न खोजे पनि हरेक वर्षको दशैँले बुबाकै यादको ढोका घच्घच्याइरहन्छ।

​बुबा हुँदाको दशैँको रौनक नै बेग्लै हुन्थ्यो। दशैँ नजिकिँदै गर्दा घरको सरसफाइ, नयाँ कपडाको जोहो, अनि पारिवारिक वातावरणमा आउने त्यो छुट्टै उत्साह बुबाकै कारण सम्भव थियो। टीकाको दिन बिहानैदेखि बुबाको अनुहारमा देखिने त्यो अभिभावकीय मुस्कान र हातमा रातो टीका अनि जमरा बोकेर ‘दीर्घायु र प्रगति’ को आशिष दिँदाको क्षण अहिले पनि हिजोजस्तै लाग्छ।

​बुबाले शिरमा हात राखेर आशिष दिँदा संसारकै सबैभन्दा सुरक्षित र शक्तिशाली महसुस हुन्थ्यो। त्यो आशिष केवल शब्द मात्र थिएन, जीवनका हरेक आँधीबेहरीसँग लड्ने एउटा महाअस्त्र थियो।

​अहिले घरमा दशैँ आउँछ, मानिसहरू आउँछन्-जान्छन्, टीका र जमराको जोहो पनि हुन्छ। तर, जुन आत्मीयता र उत्साह बुबाको उपस्थितिमा हुन्थ्यो, त्यो अब कहिल्यै फर्किएर नआउने गरी हराएको छ। टीकाको दिन मा बुबा बस्ने त्यो खाली ठाउँलाई हेर्दा मन अमिलो भएर आउँछ, आँखा रसाउँछन्।

​आफन्त र मान्यजनहरूले टीका लगाइदिँदै गर्दा पनि मनले केवल एउटै स्पर्श खोजिरहन्छ—बुबाको हातको स्पर्श। तर, वास्तविकता निर्मम छ; अब मेरो जीवनमा बुबा हुँदाको जस्तो पूर्ण र खुसीले भरिएको दशैँ कहिल्यै आउने छैन।

​मानिस बितेर गए पनि उहाले दिएका संस्कार, माया र मार्गदर्शन कहिल्यै मर्दैनन्। बुबा भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका आशिष, विचार र न्यानो सम्झनाहरू सधैँ मनभित्र जीवितै छन्।

​हो, अबका दशैँहरू पहिले जस्ता कहिल्यै हुने छैनन्। तर बुबाले देखाउनुभएको बाटोमा हिँड्नु, उहाँका असल संस्कारलाई जोगाउनु र उहाँको यादलाई मनको मन्दिरमा सजाएर राख्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ।

​भौतिक रूपमा टाढा भए पनि, बुबा! तपाईंको आशिषको छहारी ममाथि सधैँ रहिरहनेछ।

​