बुबा बिनाको तिहार : आँगनको त्यो रङ्गीन पाटो जो सधैँ रित्तै लाग्छ
देवेन्द्र प्रसाई बिर्तामोड झापा

आज बुबा हामीलाई छोडेर जानुभएको तीन वर्ष पूरा भयो। पात्रो पल्टाउँदा दिनहरू कसरी बिते पत्तै भएन, तर मनको क्यालेन्डरमा भने त्यो कालो दिन र त्यसले छोडेर गएको शून्यता अझै पनि ताजै छ। जतिबेला तिहारको रौनक चारैतिर छाउँछ, घरको आँगनमा काग र कुकुरको तिहारसँगै झिलिमिली बत्तीहरू बल्न थाल्छन्, मेरो मनमा भने उही पुरानो पीडाले घर गर्छ।
तिहार र बुबा—यी दुई शब्द मेरा लागि सधैँ पर्यायवाची जस्तै थिए। बुबालाई चाडपर्व, विशेष गरी तिहारको उल्लासले बेग्रै किसिमले छोप्थ्यो। उहाँको स्वभाव नै रहुसे थियो। तिहार आउनुभन्दा हप्तौँ अघिदेखि नै उहाँको उत्साह हेर्न लायक हुन्थ्यो। घरको सरसफाइ गर्ने, रंगरोगन लगाउने, बत्तीको जोहो गर्ने मात्र होइन, दाजुभाइ तथा छरछिमेकलाई जम्मा गरेर देउसी-भैलोको तयारीमा जुट्नु उहाँको विशेष रुचि थियो।
बुबाको स्वर निकै खुलेको र रसिलो थियो। जब उहाँ तिहारमा देउसी खेल्न थाल्नुहुन्थ्यो, सिंगो गाउँ वा टोल नै उज्यालो हुन्थ्यो। उहाँको नेतृत्वमा गाइने देउसीका भाकाहरू, पुराना पौराणिक कथा जोडेर भनिने छन्दोबद्ध श्लोकहरू र अन्त्यमा दिइने आशीर्वादले सबैको मन जित्थ्यो। उहाँको त्यो जोसिलो उपस्थिति र हाँसोले घरको कुनाकुना गुञ्जायमान हुन्थ्यो। उहाँ आँगनमा हुँदा तिहार आफैँमा जीवन्त लाग्थ्यो।

तर, आज बुबा हुनुहुन्न। उहाँ गएपछिका यी तीनवटा तिहारहरू मेरा लागि केवल औपचारिक पर्वजस्तै बनेका छन्। तिहारमा झिलिमिली बत्ती बल्छन्, घरमा मिष्ठान्न पाक्छ, टीका लगाइन्छ, मानिसहरू खुसीयाली साटासाट गर्छन् तर मेरो मनमा भने एउटा ठूलो खाडल बनेको छ। सबैथोक छ, तर त्यो ‘रौनकता’ छैन। बाहिरको उज्यालोले भित्रको अँध्यारोलाई लुकाउन सक्दो रहेनछ।
पहिले जस्तो खुला रूपमा न हाँस्न मन लाग्छ, न त त्यो हतारो र उमंग नै बाँकी छ। पर्वको नाममा विधि पुर्याउने काम मात्रै भइरहेको छ।बुबा, तपाईंसँगै तिहारको त्यो खास स्वाद र उमंग पनि गयो। देउसीको त्यो भाका अब स्मृतिमा मात्र सीमित भएको छ। जहाँ हुनुहुन्छ, खुसी हुनुहोला। तपाईंका ती मीठा स्मृतिहरूलाई मुटुमा संगालेर हामी यो तिहार पनि काट्दैछौँ, तर यो सत्य हो—बुबा बिनाको तिहार कहिल्यै तिहारजस्तो लाग्दो रहेनछ।
