चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि पुर्वीभागमा शनिवार पानी पर्ने

भारतको जमिनमाथि कमजोर हुँदै उत्तरतर्फ अघि बढिरहेको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालमा आगामी केही दिन वर्षाको सम्भावना कायमै रहेको छ । आज बिहीवार हिजोको तुलनामा वर्षा केही कम हुने अनुमान गरिए पनि भोलिदेखि शनिवारसम्म वर्षा र कतिपय स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसमविज्ञ तथा प्राध्यापक विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको वायु गतिकीय प्रभाव अझै कायम छ । हाल चक्रवातको स्तरकै हावाको गति रहेको यो प्रणाली आज बिहीवार बिहानसम्ममा न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।
नेपालमा बिहानैदेखि वर्षा सुरु भएको र यसको प्रभाव पश्चिमतर्फका क्षेत्रमा पनि फैलिन सक्ने संकेत देखिएको छ । आजको पूर्वानुमानमा वर्षाको मात्रा केही कम देखिए पनि बिहीवारदेखि शनिवारसम्म वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको पोखरेलले बताएका छन् ।
किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेले विशेष सतर्कता अपनाउनु पर्ने
वर्षाका कारण धानबाली भित्र्याउने तयारीमा रहेका किसान प्रभावित हुन सक्ने भएकाले मौसमको अवस्था हेरेर कृषि कार्य गर्न सुझाव दिइएको छ । त्यस्तै, उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा यात्रा गर्नेहरूले मौसमको पूर्वानुमान र स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन आवश्यक छ /
वर्षाले वायुमण्डलमा रहेका धुलोका कण कम गर्न र वायु प्रदूषणबाट केही राहत दिन सक्ने भए पनि भारी वर्षा, चट्याङ तथा प्रतिकूल मौसमको सम्भावनालाई बेवास्ता गर्न नहुने देखिन्छ ।
मौसमको अवस्था परिवर्तन भइरहन सक्ने भएकाले सर्वसाधारणलाई नियमित मौसम पूर्वानुमान हेर्न, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन र आवश्यक नभएसम्म प्रतिकूल मौसममा यात्रा नगर्न आग्रह गरिएको छ ।
