वर्षभरि मासु खाँदा नबिझाउने मन, चाडपर्वमा बलि देखेपछि मात्रै किन जाग्छ?

भीम शर्मा पौड्याल
लक्ष्मिपुर-झापा
अरू बेला दैनिक रूपमा थालभरि मासु थापेर खाँदा वा बजारमा काटेर झुन्ड्याइएका पशुपक्षी देख्दा कसैको मुटु काप्दैन। तर, जब हाम्रा मौलिक चाडपर्वहरू नजिकिन्छन्, एकाएक “पशुपक्षीको बलि दिनु हुँदैन” भन्दै सामाजिक सञ्जालमा दयाको स्वाङ पार्ने एउटा जमात प्रकट हुन्छ। तिनको यो देखावटी र मौसमी संवेदना देख्दा दया होइन, हाँसो उठ्छ।
यदि कोही माछामासु खाँदैन वा शाकाहारी छ भने त्यो उसको व्यक्तिगत रोजाइ हो, चुपचाप आफ्नो जीवनशैली अपनाए भयो नि! अरूको आस्था, परम्परा र भावनामाथि प्रहार गरेर खाने मान्छेको आत्मा मार्ने अधिकार कसले दियो? आफ्ना बोली र व्यवहारमा राक्षसी प्रवृत्ति स्पष्ट झल्कने, तर समाजमा भने “म त शुद्ध शाकाहारी हुँ” भन्दै फुर्ती लाउँदै बलि प्रथाको विरोधमा भाषण छाट्दै हिँड्ने ढोंगीहरूलाई यो अलिकति पनि सुहाउँदैन।
अलि गम्भीर भएर सोच्नुभएको छ कहिले?
विश्वका धर्म र संस्कृतिहरूलाई नै हेर्ने हो भने पनि, एकाध स्वदेशी/सनातन धर्म दर्शनबाहेक पश्चिमतिरबाट आएका विदेशी धर्महरूमा त मासु खानुलाई सामान्य र स्वाभाविक रूपमा लिइन्छ। त्यहाँ कसैले मासु नखाऊ भनेर रोकेको वा धर्म सङ्कटमा परेको सुनिँदैन।
अरू बेला पनि हाम्रो समाज सुटुक्क तामसी भोजन ग्रहण गर्छ तर त्यसबेला कसैलाई केहि हुन्न। तर जब हाम्रा पर्वहरूमा मानिसले स्वार्थ वा लोभका लागि होइन, ईश्वरलाई साक्षी राखेर श्रद्धाभाव व्यक्त गर्दै जसरी किसानले नयाँ अन्न घरमा भित्र्याउँदा भगवानलाई ‘न्वाँगी’ चढाएर मात्र आफूले ग्रहण गर्छ, त्यसरी नै चाडपर्वमा— “हे भगवान्! म आफ्नो खुसी र परम्पराअनुसार यो भोजन ग्रहण गर्दैछु, हजुरलाई पनि समर्पण गर्दछु” भन्दै भोग र प्रसादका रूपमा देवतालाई चढाएर मात्र खान्छन्। यसरी भगवानलाई समेत साक्षी र खुसी बनाएर, न्वाँगी खाए सरी चोखो र पवित्र मनले प्रसादका रूपमा ग्रहण गर्दा कसैलाई किन डाह र टाउकोदुखाइ? यो कुरालाई सकारात्मक ढङ्गले बुझिदिने चेत खोइ?
प्रकृतिले पनि ठूला प्राणीका लागि सानालाई आहारकै रूपमा सन्तुलन मिलाएर पठाएको हो। साना पशुपक्षीहरू जन्मँदै किन ठूलो सङ्ख्यामा जन्मन्छन्? के त्यसै जन्मिएका हुन्? प्रकृतिको आफ्नै खाद्य-श्रृंखला छ।
इतिहास र धर्मग्रन्थ कोट्याउने हो भने पनि हाम्रा र तपाईँका पुर्खाहरू पनि ढुङ्गे युगमा शिकार गरेर नै बाँचेका थिए, यो ऐतिहासिक सत्यलाई कसैले नकार्न सक्दैन।
भगवान श्रीरामले समेत वनवासको क्रममा ऋषिको आश्रममा मृगको मासु ग्रहण गर्नुभएको उल्लेख पाइन्छ।
स्वयं गौतम बुद्धले धर्म प्रचारका क्रममा तिब्बत पुगेका आफ्ना शिष्यहरू कडा जाडोले मर्नै लाग्दा उनीहरूको ज्यान जोगाउन आवश्यकता अनुसार पशुको रगत/मासु ग्रहण गर्न अनुमति दिएका थिए।
याद राख्नुहोस्—शाकाहारी हुनु एउटा जीवनशैली हो, तर अरूको आस्थाको अपमान नगर्नु मानवीय संस्कार हो। धर्मको प्रमाण आफ्नो थालबाट मात्रै होइन, आफ्नो व्यवहारबाट पनि दिन सक्नुपर्छ।
मेरो यो लेखको उद्देश्य सबैले मासु खानै पर्छ भन्ने होइन। स्वास्थ्यका हिसाबले मासु नखानु वा शाकाहारी हुनु धेरै राम्रो कुरा हो। तर, अरूको आस्था र परम्परामा ठेस पुर्याउने, चाडपर्वकै मौका छोपेर धर्म-संस्कृतिमाथि प्रहार गर्ने र मानिसको आत्मा मार्ने काम पटक्कै उचित होइन।
आफ्नो आत्माले जे मान्छ र जे माग्छ, त्यही गर्नुहोस्। तर, आफ्नो ढोंग र पूर्वाग्रह अरूमाथि थोपेर अरूको श्रद्धा र आत्मामाथि चोट पुर्याउने काम बन्द गर्नुहोस्। बस्, मेरो भनाइ यत्ति हो!
