सर्वश्व गुमाएका नेताको योगदान र बिरासतलाई अपमान गरेर पार्टी बलियो हुँदैन

भद्रपुर २८ असोज । नेपाली कांग्रेस जिल्ला अधिवेशन तयारी समिति झापाका संयोजक कृष्ण हुमागाईले पार्टी निर्माणमा सर्वश्व गुमाएका परिवार र तिनको बिरासतलाई रुवाएर, अपमान गरेर कांग्रेस बलियो हुन नसक्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र न. ३ को क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै हुमागाईले बीपी, गणेशमान, निधि र सीके प्रसाईको राजनैतिक बिरासत नसमेटिएको समूहमा असली कांग्रेसको संस्कार र आत्मा नरहेको बताउनु भयो ।
म्याद सकिएको कार्यसमितिको नियमित महाधिवेशन गरेर सबै तहमा नेतृत्व परिवर्तन गर्नु पर्नेमा विशेष महाधिवेशनको नाममा पार्टीलाई बिभाजित गर्ने काम गरेर महामन्त्रीहरुले ९० सिटको पार्टीलाई १८ सिटमा खुम्च्याएको हुमागाईले भनाई राख्नुभयो ।
जिल्ला अधिवेशन तयारी समितिका सह-संयोजक कालेन्द्रप्रसाद सिंह राजवंशीले मनमा लोभ र पाप नभएपछी मानिसलाई सत्य र इमानको बाटोमा हिडने शक्ति प्राप्त हुने बताउदै सर्वोच अदालतले सत्यको पक्षमा फैसला गरेर न्याय दिने बिस्वास प्रकट गर्नुभयो ।
महासमिति सदस्य भगिरथ पोद्धारले निष्ठाको राजनीतिमा बिश्वास गर्नेले भीडको पछि नकुदने बताउदै भीडको भडकाउ मानसिकतालाई इमान र निष्ठाको बाटोमा डोहोर्याउने क्षमता संकटमा उभिने नेतासँग हुने बताउनुभयो ।
महाधिवेशन प्रतिनिधि श्याम सिटौलाले राजनीतिमा त्याग, बलिदान र संगठन निर्माणमा योगदान दिएको नेताहरुलाई अपमान गरेर हिडनेले पार्टी, देश र जनताको भलो गर्छन भनेर पत्याउन नसकिने बताउनु भयो ।

जिल्ला निर्वाचन अधिकृत नारायण प्रसाद पौडेलले निर्वाचन, प्रक्रिया र विभिन्न कलस्टरहरुका बारेमा जानकारी दिनुभयो ।
३ न. क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक नरायण दाहालको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत चिन्तामणी खरेलले गर्नु भर्को थियो भने कार्यक्रमको संचालन उमाशंकर गणेशले गर्नु भएको थियो ।
