बिर्तामोडमा असोज १६ गते देखि ‘किताब मेला २०८३’ आयोजना हुने

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकसँगको सम्बन्धलाई पनि पुनः बलियो बनाउने उद्देश्यले झापाको बिर्तामोडमा ‘किताब मेला २०८३’ आयोजना हुने भएको छ।
इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोडको संयुक्त आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म किताब मेला सञ्चालन गर्न लागिएको हो। मेलाको तयारीबारे आयोजकले आज बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
‘यो दशैं दक्षिणामा किताब उपहार’ भन्ने नारासहित आयोजना हुने मेलामा साहित्य, शिक्षा, दर्शन, इतिहासलगायत विभिन्न विधाका ५ हजारभन्दा बढी पुस्तक उपलब्ध हुने मेला संयोजक केशवप्रसाद मैनालीले जानकारी दिनुभयो। पाठकको रुचि र उमेरअनुसारका पुस्तकमा १० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराइने उहाँले बताउनुभयो।

संयोजक मैनालीका अनुसार मेला पुस्तक बिक्रीमा मात्र सीमित रहने छैन। मेलालाई पाठक, लेखक र साहित्यिक क्षेत्रबीचको प्रत्यक्ष संवादको अवसरका रूपमा विकास गर्न विभिन्न साहित्यिक तथा सिर्जनात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ।
उहाँले सम्बन्धित सरोकारवाला निकाय तथा साहित्यिक संस्थासँग सहकार्य गर्दै कोशी प्रदेशकै ठूलो पुस्तक मेलाका रूपमा कार्यक्रमलाई स्थापित गर्ने तयारी भइरहेको बताउनुभयो।
मेलाका क्रममा लेखकसँग प्रत्यक्ष संवाद, कवि गोष्ठी, कविता तथा गजल वाचन, साहित्यिक अन्तरक्रिया र लक्की ड्रलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
मेला अवधिभर विभिन्न साहित्यिक गतिविधि सञ्चालन हुने भएकाले पुस्तकप्रेमी, विद्यार्थी, अभिभावक तथा साहित्यमा रुचि राख्नेहरूका लागि मेला उपयोगी हुने आयोजकको विश्वास छ।
मेलाका सहयोगी संस्थाका रूपमा बिर्तामोड रिडर्स क्लब रहेको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोल, पत्रकार गोपाल काफ्ले, कृष्ण मिश्र, दुर्गाप्रसाद सिग्देल र धमेन्द्र भट्टराई ‘मामा’ लगायतले किताब मेलालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिनुभएको थियो।
बिर्तामोडमा आयोजना हुँदै आएको किताब मेलाको यो चौथो संस्करण हो। आयोजकले यसपटकको मेलालाई पुस्तकप्रेमीका लागि पुस्तक खरिद गर्ने अवसरसँगै साहित्यिक भेटघाट, सिर्जना प्रस्तुति र लेखक–पाठक संवादको साझा थलोका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रमको सञ्चालन पत्रकार भरत प्रसाईंले गर्नुभएको थियो।
