‎


‎
तिमीले भन्यौ
‎छोरी भएर जन्मिएपछि
‎अर्काको घर जानुपर्छ।
‎
‎को हो नि त्यो ‘अर्को’?
‎
‎आफूसँगै हुर्किंदै गरेको
‎सेती बाख्राको पाठीसँग
‎आँगनमा तीन बित्ता उफ्रिँदै
‎मैले भनेथेँ
‎“जान्नँ, ब्यारे!
‎अर्को न सर्को…”
‎
‎तर मैले ‘मेरो’ भनेको समाजले,
‎मेरो मानेको संस्कारले
‎मेरै कुरा सुन्न तयार भएन।
‎
‎र एक दिन
‎मेरै हो भनेको घरबाट
‎मलाई बिदाइ गर्ने निर्णय गर्‍यो।
‎
‎जहाँ म
‎निस्फिक्री हाँस्थेँ,
‎दुःख पर्दा मन खोलेर रुन्थेँ,
‎जहाँ सबैलाई
‎‘मेरा’ भनेर चिन्थेँ
‎त्यो ‘मेरो’ पनि
‎मेरो रहेनछ।
‎
‎मात्र एउटा भ्रम रहेछ।
‎
‎घरछेउका देवता पनि
‎मेरै देउताजस्तै लाग्थे।
‎अर्घा पर्दा मै चाहिन्थ्यो
‎मेरा देउतालाई
‎कन्या कुमारीको हातको
‎चोखो पानी।
‎
‎अन्ततः,
‎म मेरै देउताको पनि
‎रहेनछु।
‎
‎जसरी जन्मघरले
‎एक दिन मलाई पराई बनायो,
‎सायद भगवानले पनि
‎मेरो लागि
‎कुनै स्थायी ठाउँ राखेनन्।
‎
‎आमा,
‎तिमीले नै सिकायौ
‎“पराई घर नै तिम्रो घर हो।”
‎
‎म विश्वास गरेर गएँ।
‎
‎धुरीदेखि आँगनसम्म
‎आफ्नो सम्झेर हुर्केको घर,
‎आफ्नै हातले रंगाएका भित्ताहरू,
‎रातो माटोले लिपेको आँगन,
‎मेरै हो भनेर सम्हालेको संसार
‎सबै पछाडि छोडेर।
‎
‎लाग्यो,
‎अब अर्को घर मेरो हुनेछ।
‎सेरोफेरो मेरो हुनेछ।
‎नातापाता मेरा हुनेछन्।
‎
‎तर एक दिन
‎त्यहाँ पनि थाहा भयो
‎म त अर्काको घरबाट आएकी थिएँ।
‎
‎यताकाले भने अर्को’,
‎उताकाले भने अर्को’।
‎छोरी हुन्छन् चाहिँ
‎कुन घरको?
‎
‎म बोल्दा
‎सयौँ अर्थ लाग्यो,
‎नबोल्दा
‎कैयौँ अर्थ लाग्यो।
‎
‎मेरो बोलीमाथि शंका भयो,
‎मेरो मौनतामाथि पनि।
‎
‎एउटा बोल्छु,
‎सुन्नेले अर्को सुन्छ।
‎
‎मायाले गरेको व्यवहारमा
‎अर्कै स्वार्थ खोजिन्छ,
‎निस्वार्थतामा पनि
‎अर्थ खोजिन्छ।
‎यो दोधारे जिन्दगीको
‎परिचय कसले दिने ?
‎
‎अब छोरीले
‎कसैको घरको नाममा
‎आफ्नो परिचय खोज्नु छैन,
‎कसैको थरमा
‎आफ्नो अस्तित्वको अर्थ खोज्नु छैन।
‎
‎जन्मघरले ‘पराई’ भने पनि,
‎पराई घरले ‘अर्काकी’ भने पनि,
‎अब आफूलाई
‎कसैको स्वीकृतिमा
‎परिभाषित गर्नु छैन।
‎
‎आफ्नो नाम आफैं लेख्नु छ,
‎आफ्नो परिचय आफैं बनाउनु छ,
‎आफ्नो आकाश आफैं रोज्नु छ।
‎अब छोरी
‎कसैको सम्पत्ति होइन,
‎कसैको जिम्मेवारी होइन,
‎कसैको छायामा अडिएको
‎एउटा जीवन होइन।
‎उनी
‎आफ्नो श्रमकी मालिक,
‎आफ्नो निर्णयकी मालिक,
‎आफ्नो सपनाकी मालिक।

कवि रन्जना आत्रेय
‎
‎