​फूल हुनु रङ्गको विज्ञापन होइन
यो माटोको हृदयबाट निस्किएको निःशब्द प्रार्थना हो।
​जब एउटा कोपिलाले आफ्नो पहिलो दल खोल्छ
त्यहाँ कुनै बाजा बज्दैन
कुनै ढोलकको तालमा उत्सवको घोषणा हुँदैन।
त्यहाँ हुन्छ एउटा समर्पण
जसरी रातको मौनतामा अँध्यारोले जुनकिरीलाई आफ्नो आमाको काख दिन्छ।
​हामी आँखाहरू बोकेर हिँड्छौँ
तर प्रायः दृष्टि गुमाइसकेका हुन्छौँ।
हामी फूललाई औँलाका टुप्पाहरूले समात्न खोज्छौँ
उसको सुगन्धलाई स्वामित्वको परिधिभित्र कैद गर्न चाहन्छौँ।
तर सौन्दर्य…
सौन्दर्य त्यो अदृश्य स्पर्श हो
जसले छुन खोज्दा आफ्नो अस्तित्व हराउँछ
अनि मनको अनन्त शून्यलाई आनन्दले भरिदिन्छ।
​फूल कसैको प्रतिक्षामा फक्रँदैन।
न उसलाई हावाको प्रशंसा चाहिएको छ
न त भमराको प्रेम-पत्रको आवश्यकता।
उ फक्रिनु त आफ्नो हुनुको एउटा सन्तुष्ट गीत हो
एउटा यस्तो गीत, जुन नसुने पनि गुञ्जिरहन्छ।
​हेर्नुको वास्तविक अर्थ त तब खुल्छ प्रिय
जब तिमी र फूलबिचको ‘म’ र ‘त्यो’ को पर्दा खस्छ।
नतौलेर आफ्ना इच्छाहरूको तराजुमा
मात्र एक साक्षी बनेर निहाल्छौ जब
तब तिम्रो मनभित्रको अशान्त मन स्थिर हुन्छ
अनि बुझ्नेछौ तिमिले
सौन्दर्य समात्नुमा होइन, सौन्दर्यको अगाडि आफू स्वयं पग्लेर बग्नुमा छ।
​प्रेम पनि त्यही प्रक्रियाको एउटा अवस्था हो
जहाँ कसैलाई आफ्नो बनाउने हतारो भन्दा पनि
कसैको उपस्थितिमा आफ्नो सम्पूर्ण चेतना फक्रिन दिनु हो।
फूल हाँगाको सुन्दरता होइन
यो त ब्रह्माण्डले मानिसलाई सम्झाएको मौन दर्शन हो:
“हेर, तर नछोऊ; बुझ, तर नबाँध—आनन्द त केवल हुनुमा छ

लीला अनमोल, बिर्तामोड झापा