हो, मैले हत्या गरेपछि नै हो म भित्र कठोरताको बिउ उम्रिएको

हो, मैले हत्या गरेपछि नै हो
मभित्र कठोरताको बिउ उम्रिएको।
त्यो कसैले गरेको हत्या थिएन
त्यो मेरै आफ्नै कलिला रहरहरूको मौन शहादत थियो।
मैले आफ्नै हातले रहरको घाँटी रेटेपछि
यो आँगनबाट सौन्दर्यको अर्थ हराएको हो
र नै मैले भुलेको हो माटोमा फूल रोप्न
र रङ्गाउन जीवनका रित्ता भित्ताहरू
सुन्दर तस्बिरहरूको ज्यालोले।
बुक र्याकमा एकाएक थिग्रिएका छन्
संसारका तमाम दर्शन र कथाहरू
मैले मिलाउन छोडिदिएँ छरिएका पानाहरू।
जब आफ्नै कथाको हत्या भयो
तब एकाएक असान्दर्भिक लागे
ती रोमान्टिक आख्यानहरू
र अर्थहीन लागे खुसीका सुन्दर कविताहरू।
उज्यालो त बस भ्रम मात्र रहेछ
जसले बिझाउने गरी देखाउँछ घाउका दागहरू।
मलाई दिनको घाम मन पर्न छोडेपछि
अँगाल्न पुगेकी हुँ रातको यो अनन्त शून्यता।
जहाँ कसैले सोध्दैन मेरा आँसुको हिसाब
जहाँ अन्धकारले ढाकिदिन्छ मेरो भित्री पराजय।
यो सहर, यी मान्छे, र यी ओछ्याइएका सम्बन्धहरू
सबै मिथ्या लाग्छन्
कसैको यादले नछुने यो चिसो छातीमा
केवल एउटा न्यानो स्पर्श बाँकी छ
जसलाई म ‘आमा’ भन्छु।
बाँकी त, एक मृत रहरको काँधमा टेकेर
अघि बढिरहेको एउटा कठोर यात्री मात्र हुँ म।
( लिला अनमोल , बिर्तामोड झापा )
