लामखुट्टेको टोकाईबाट सर्ने जापनिज् इन्सेफ्लाइटिस (जेई) विरुद्ध झापामा खोप अभियान सञ्चालन हुने भएको छ ।जेई संक्रमणबाट झापामा संक्रमण र मृत्यु हुने क्रम नरोकिएपछि सरकारले अभियानकै रुपमा खोप दिन लागेको हो । अभियानका रुपमा दिइने खोप ३० वर्ष उमेर समूह भन्दा माथिका ५ लाख बढीलाई दिइने आज बिर्तामोडमा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिनु भएकाे छ । जेईका कारण झापामा ७ जनाको मृत्यु हुनुका साथै १३ जना संक्रमित रहेको कार्यालयले जनाएको छ । मृतक सातजना मध्ये ६ जना ५० वर्ष भन्दा माथिका रहेको बताइएको छ भने एकजना आठ वर्षीय बच्चा रहेको स्वास्थ्य कार्यालयका प्रमुख दासले बताउनु भयाे । मृत्यु भएकाहरु जेई खोप नलगाएको पुष्टि भएसंगै झापामा खोप अभियानको तयारी गरिएको हो ।झापाका ९ वटा पालिकामा असोज ५ गतेदेखि शुरु हुने खोप अभियान बाँकी ६ वटा पालिकामा असोज ९ गतेदेखि शुरु हुनेछ भने असोज १५ गते अभियान सम्पन्न गर्ने तयारी कार्यालयले गरेको छ ।

अभियान सम्पन्न गर्नका लागि कार्यालयले ५०० स्वास्थ्यकर्मी, एकहजार बढी स्वास्थ्य स्वयंसेविका र एकहजार ५०० जना स्वयसेवक परिचालन हुने जनाइएको छ । १३१ वडाका विभिन्न स्थानमा ९०० वटा खोप केन्द्र निर्धारण गरिएको कार्यालयका विश्वनाथ श्रेष्ठले जानकारी दिनु भयाे ।गम्भीर एलर्जी भएकाहरूः यो खोपको अघिल्लो मात्रा (डोज) लगाउँदा शरीरमा गम्भीर प्रकारको एलर्जी वा रियाक्सन (जस्तैः एनेफाइलेक्सिस) देखिएका व्यक्तिहरूले लगाउन नमिल्ने डा. संगीता साहले बताउनु भयाे। खोपमा प्रयोग गरिने कुनै पनि तत्व (सामग्री) सँग गम्भीर एलर्जी भएकाहरूले कहिले पनि जेई खोप लगाउन हुँदैन ।कुनै पनि कारणले गम्भीर बिरामी परेका वा उच्च ज्वरो आएका व्यक्तिहरू र गर्भवती महिलालाई पनि यो खोप दिन नमिल्ने बताइएको छ ।

के हो जापानिज् इन्सेफ्लाइटिस् ?

लामखुट्टेको टोकाइबाट सर्ने एक गम्भीर र संक्रामक रोग हो, जसले मानिसको मस्तिष्कमा संक्रमण गर्छ ।
क्युलेक्स जातिको लामखुट्टेबाट सर्ने यो रोग असारदेखि असोजसम्म देखिन्छ। सबभन्दा बढी जोखिम हुने समय साउन र भदौ हो ।
धान खेतमा जमेको पानीमा क्युलेक्स लामखुट्टे हुन्छन्। ती लामखुट्टेले सुँगुर, हाँस लगायतलाई टोक्छन्। अनि तिनै लामखुट्टेले मानिसलाई टोके भने जापानी इन्सेफ्लाइटि संक्रमण हुने हो।