​उत्तर-पूर्वाञ्चल भारतको प्रतिष्ठित साहित्यिक संस्था असम साहित्य सभा, पश्चिम कार्बी आङलोङ जिल्ला समितिको आयोजनामा एक भव्य पुस्तक लोकार्पण तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।

​गत २६ अप्रिलका दिन जिल्लाको प्रमुख द्वार मानिने सिङ रङहाङ मेमोरियल पार्कको प्राङ्गणमा आयोजित उक्त समारोहमा दार्जिलिङकी विशिष्ट साहित्यकार डा. नीना राईद्वारा लिखित कथा सङ्ग्रह ‘जीवन मञ्चन’ को असमीया अनुवाद लोकार्पण गरियो। यस कृतिको अनुवाद असमका विशिष्ट लेखक रण काफ्लेले गर्नुभएको हो।

​कार्यक्रमको सुरुवात बिहान ११ बजे स्थानीय साहित्यकार रबिन बरदलैद्वारा दीप प्रज्वलन र विशिष्ट साहित्यकार केशव चन्द्र उपाध्यायद्वारा सिङ रङहाङको प्रतिमूर्तिमा माल्यार्पण  गरिएको थियो। पश्चिम कार्बी आङलोङ जिल्ला समितिका स्थायी सभापति विष्णु निरोलाको अध्यक्षतामा सम्पन्न उक्त सभामा मुख्य अतिथिको रूपमा उपस्थित असम साहित्य सभाका केन्द्रीय उपाध्यक्ष पदुम राजखोवाले कृतिको विमोचन गर्नुभएको थियो।

​​सो अवसरमा दार्जिलिङबाट अतिथिहरू डा. नीना राई, डा. साङ्मु लेप्चा, डा. अनिता लामा र सबिता थापा ‘संकल्प’ का साथै असमकी सुपुत्री एवं ‘मास्टर सेफ’ की प्रथम रनर-अप शान्ता शर्मालाई आयोजकका तर्फबाट फुलबुटे गामछा, झापी र सम्मान-पत्र प्रदान गरी भव्य अभिनन्दन गरिएको थियो।

साहित्यिक सत्रमा विशिष्ट साहित्यकार टङ्क कोवँर, कवि पवन शर्मा, मदर ज्योति, वापन क्र र ज्योति होमागाईले साहित्य र समाजका विविध पक्षमाथि आफ्ना गहन विचारहरू प्रस्तुत गर्नुभयो। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिले थप रौनक थपेको थियो। लोकप्रिय गायकद्वय बलेश्वर हान्से र सार्थे रङ्पीले कार्बी गीत प्रस्तुत गर्दा भाग्य देवी बेपीको कलात्मक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

​अलका बाथारीको स्वागत भाषणबाट सुरु भएको सत्रमा प्रमुख अतिथि पदुम राजखोवाले आफ्नो लामो सम्बोधनका क्रममा संस्थाको गरिमा र साहित्य अनुवादको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले भाषा-साहित्यमा बढ्दो पाश्चात्य अतिक्रमण, साइबर अपराध र महिला हिंसा जस्ता समसामयिक चुनौतीहरूप्रति समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो।