साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान
साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार धरावासीलाई उक्त सम्मान प्रदान गरेको हो ।

शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरिएको थियाे ।
साहित्यकार प्रकाश बुढाथोकी काे प्रमुख आतिथ्यतामा नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि उपप्रमुख पराजुलीले प्रकाश पार्नुभयो ।
सोही कार्यक्रममा साहित्य विमर्शसमेत गरिएको छ । विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्य प्रमुख वक्ताका रूपमा रहनुभएको थियो भने विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा माेरङ, झापा र इलाम का श्रस्टा हरुले कविता, गीत, गजललगायत रचना प्रस्तुत गरेका थिए । नगरले प्रदान गर्दै आएको उक्त दीर्घसेवा सम्मानबाट यस अगाडि सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराल सम्मानित भइसक्नुभएको छ ।
समितिकी संयोजक कञ्चना काफ्लेले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगरका कर्मचारी सौजन कट्वालले गर्नुभएको थियो ।


