विराटनगरको ग्रिनक्रस हस्पिटल वाट मृत महिलाको कानबाटै सुन गायब

विराटनगर : विराटनगरस्थित रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा मानवतालाई नै लज्जित तुल्याउने घटना सार्वजनिक भएको छ ।
अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनका मुन्द्रा चोरी भएको घटना बाहिरिएको हो ।
आइतबार उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको मुन्द्रा अस्पतालको शय्याबाटै गायब भएको बताइएको छ ।
विष सेवन गरेपछि सबिनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटबाट नोबेल मेडिकल कलेज विराटनगर रेफर गरिएको थियो । तर, एम्बुलेन्स चालकले उनलाई ग्रीनक्रस हस्पिटल पुर्याएका थिए । आइतबार बिहान उपचारकै क्रममा सबिनाको मृत्यु भएको थियो ।
मृतकका आफन्तका अनुसार अस्पताल ल्याउँदा र उपचारका क्रममा सबिनाको कानमा सुनका मुन्द्रा सुरक्षित थिए । ‘मृत्यु हुनुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाएर भित्र लगियो, त्यसपछि सुन गायब भयो,’ आफन्तले भने, ‘त्यही समयमा सुन चोरी भएको हाम्रो आशंका छ ।’
मृत्युपछि शव हेर्दा कानमा मुन्द्रा नदेखिएपछि आफन्तले तत्काल अस्पताल प्रशासनसँग सोधपुछ गरेका थिए ।
सुरुमा घटनालाई इन्कार गरेको अस्पताल प्रशासनले बेडमा हुँदा मुन्द्रा लगाएको भिडियो देखाइएपछि क्षतिपूर्ति दिन तयार भएको जनाइएको छ । अन्ततः अस्पतालले चोरी भएको सुन बराबरको रकम पीडित परिवारलाई बुझाएको बताइएको छ ।
यता, अस्पतालका सञ्चालक कृष्ण खवासले घटनाको समयमा आफू बाहिर रहेको भन्दै थप बुझ्ने प्रतिक्रिया दिएका छन् । तर, अस्पतालले क्षतिपूर्ति तिरिसकेकाले चोरी भएको पुष्टि भइसकेको पीडित पक्षको दाबी छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अस्पतालजस्तो संवेदनशील स्थानमा भएको घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् ।
