​जहाँ इतिहासका पानाहरू पहेँलिएर झर्छन्
जहाँ शासकका अजङ्गका सालिकहरू ढल्छन्
र, समयको क्रूर नदीले बगाएर लैजान्छ
काठ, ढुङ्गा र माटोका नश्वर अहंकारहरू।
हो, ठीक त्यहीँ
तपस्यामा लीन कुनै सन्यासीझैँ
उभिरहन्छ एउटा शब्दको स्मारक।
यो ढुङ्गाको स्मारक होइन
जसलाई घामले तताओस् वा पानीले पगालोस्।
यो चेतनाको बलियो खम्बा हो
जो अक्षरको आलो रगतले सिञ्चित गरिएको छ
जसलाई सिर्जनाको अथाह शक्तिले उठाइएको छ।
जब आवज छेकिन्छ बन्दुकको नालले
जब विचारहरू थुनिन्छन् अँध्यारो कालकोठरीमा
तब यही स्मारकबाट निस्कन्छन्
क्रान्तिका राँकाहरू
प्रेमका शीतल झरीहरू
र, मान्छे हुनुको ओजस्वी उद्घोषहरू।
शब्द– जो आदि हो, जो अनादि हो।
जसलाई न आगोले डढाउन सक्छ, न हावाले उडाउन सक्छ।
यो त मौनताभित्रको त्यो गर्जन हो
जसले निरङ्कुशताको जग हल्लाइदिन्छ।
हजारौँ वर्षपछि पनि जब उत्खनन हुनेछ यो सभ्यताको
तब कंकालहरूका बीचबाट
माटोका थुप्राहरूका बीचबाट
टल्कनेछ एउटा जीवन्त अक्षर।
र, त्यसले भन्नेछ–
“ढुङ्गाका महलहरू त ढलेर गए
तर हेर, मान्छेको अस्तित्व अझै बाँचिरहेछ
यही शब्दको स्मारकभित्र।

कवि- लिला अनमोल , बिर्तामोड ६ , झापा