शान्ति धान दिवस (असार–१५)

नेपाल कृषि प्रधान देश हो र यहाँका अधिकांश व्यक्तिको जीवनयापनको प्रमुख स्रोत कृषि हो। कृषि अन्तर्गत पनि धान खेती नेपालको मुख्य खाद्यान्न बाली हो। यही धान खेतीको महत्वलाई सम्मान गर्दै प्रत्येक वर्ष असार १५ गते “शान्ति धान दिवस” तथा “दही चिउरा खाने दिन” मनाइन्छ।
नेपालमा परापूर्वकालदेखि नै किसानहरूले यस दिनलाई विशेष पर्वका रूपमा मनाउँदै आएका छन्। यस दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रूपमा चिनिन्छ। नेपाल कृषि प्रधान देश भएकाले खेतीको ठूलो मूल्य र महत्व रहेको छ। कृषिमा रमाउने कृषकहरू खेतमा मस्त रहन्छन्। नेपाल सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार वि.सं. २०६२ सालदेखि असार १५ लाई “शान्ति धान दिवस” तथा रोपाइँ महोत्सवका रूपमा मनाउन सुरु गरेको हो।
यस दिन अर्थात् १५ गते किसानहरू हिलोमा रमाउँदै धान रोप्छन्, नौमती बाजा बजाइन्छ, असारे भाका गाइन्छ, नाचगान गरिन्छ। नयाँ दुलही झैँ सिँगारिएको खेतमा किसानहरू आपसी सहयोगको भावनाले काम गर्छन्। धानको बिउ रोपेर दही चिउरा खाने चलन छ। यसले शरीरलाई ऊर्जा दिनुका साथै परम्परा र संस्कृतिको संरक्षण गर्न पनि मद्दत गर्दछ।
धान खेतीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। देशको खाद्य सुरक्षा सुनिश्चित गर्न र जीविकोपार्जनका लागि यसको महत्वपूर्ण भूमिका रहेको छ। किसानको मेहनत, त्याग र संघर्षको सम्मान गर्ने अवसर प्रदान गर्ने यस दिनले कृषि क्षेत्रको संरक्षण, आधुनिकीकरण र उत्पादन वृद्धि गर्न प्रेरणा दिन्छ।
आजको युवा पुस्तामा पनि कृषि क्षेत्रप्रति रुचि बढाउन यस्ता दिवसहरूले महत्वपूर्ण भूमिका खेल्छन्। वर्तमान समयमा कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि असार १५ को सांस्कृतिक महत्व यथावत् छ।
असार १५ को सांस्कृतिक महत्व
असार १५ केवल कृषि कार्यसँग सम्बन्धित दिन मात्र होइन, यो नेपाली संस्कृति र लोकजीवनको महत्वपूर्ण अंश हो। श्रमलाई उत्सवका रूपमा मनाउँदै कामको थकान कम गर्ने, सामाजिक सद्भाव बढाउने तथा गाउँघरमा पुरानो चलन र परम्परालाई जोगाउने कार्य यस दिनले गर्छ। आपसी सहयोग, एकता र भाइचाराको भावना विकास गराउँछ।
दही चिउरा खाने परम्परा
असार १५ मा दही चिउरा खाने चलन पनि निकै पुरानो छ। रोपाइँको मौसमपछि शरीरमा ऊर्जा र स्फूर्ति दिनका लागि दही चिउरा खाने परम्परा रहेको हो। दहीलाई पवित्र र शुभ खाद्य पदार्थको रूपमा लिइन्छ। बिहान आज पनि दहीसँग आँप, केरा खाने चलन छ।
अन्त्यमा, यस अवसरमा विभिन्न नाच, गीत, प्रतियोगिता तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरी असार १५ मनाइन्छ। जलवायु परिवर्तन, खेतीयोग्य जमिनको संरक्षण तथा कृषि क्षेत्रमा देखिएका चुनौतीका बीचमा असार १५ ले कृषि क्षेत्रको महत्व युवा पुस्तामा अझै बढाउन प्रेरणा दिने सन्देश दिन्छ।
निष्कर्ष
असार १५ अथवा धान दिवस नेपालको कृषि इतिहास, संस्कृति, परम्परा र किसानको मेहनत तथा परिश्रमसँग जोडिएको महत्वपूर्ण दिन हो। किसानको सम्मान र कृषि संस्कृतिको प्रतीकका रूपमा स्थापित भएको असार १५ ले नेपाली संस्कृति र कृषिको इतिहासलाई जीवन्त रूपमा जोडेको छ।
रेखा सापकोटा
वाल्मिकी एजुकेशन फ़ाउन्डेशन बिर्तामोड,झापा

