oplus_9437186

टोस्टमास्टर्स इन्टरनेशनलको जिल्ला ४१ अन्तर्गतको झापा टोस्टमास्टर्स क्लबले आफ्नो पाँचौँ वार्षिक कार्यक्रम ‘सिम्फोनी ५.०’ बिर्तामोडमा भव्य रूपमा सम्पन्न गरेको छ।टोस्टमास्टर्स वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्ष जानवी खेडिया, शिक्षा उपाध्यक्ष प्रियंका झॅवर, सदस्य उपाध्यक्ष रिशब सिंह चहर, जनसम्पर्क उपाध्यक्ष अञ्जु अग्रवाल (बन्सल) सचिव कोमल धानुका, कोषाध्यक्ष विनिता गोयल तथा सर्जेन्ट एट आर्म्स दीपा खेडिया रहेका छन्।

कार्यक्रममा एरिया C4 डायरेक्टर अञ्जु प्रधान ले क्लबमा ६ जना नयाँ सदस्यहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेकी थिइन्। निवर्तमान अध्यक्ष एकता बन्सलले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै क्लबको प्रतिष्ठित गोल्डेन गेभेल अवार्ड र हल अफ फेम अवार्ड प्रदान गरेकी थिइन्। उनले क्लब स्थापना कालदेखि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकोमा सम्पूर्ण सदस्यहरूको योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन्।

नवनिर्वाचित अध्यक्ष जानवी खेडियाले आफ्नो सम्बोधनमा झापा टोस्टमास्टर्स क्लबलाई प्रत्येक सदस्यले सिक्ने, नेतृत्व गर्ने र आत्मविश्वासका साथ अघि बढ्ने साझा मञ्चका रूपमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले गुणस्तरीय बैठक, प्रभावकारी प्रशिक्षण, सीपमूलक कार्यशाला तथा सदस्य-केन्द्रित विभिन्न कार्यक्रममार्फत क्लबको समग्र गुणस्तर र सदस्यहरूको अनुभवलाई थप उत्कृष्ट बनाइने बताइन्। साथै, क्लबको गौरवपूर्ण विरासतलाई निरन्तरता दिँदै नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरिन्।

टोस्टमास्टर्स आन्दोलन नेपालमा सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट सुरु भएको हो। हाल नेपालभर ८० भन्दा बढी टोस्टमास्टर्स क्लबहरू सक्रिय रहेका छन्, जहाँ एक हजारभन्दा बढी सदस्यहरूले प्रभावकारी सञ्चार, सार्वजनिक वक्तृत्वकला र नेतृत्व क्षमताको विकास गर्दै आएका छन्। झापा टोस्टमास्टर्स क्लबले पनि पूर्वी नेपालमा व्यक्तित्व विकास र नेतृत्व प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

टोस्टमास्टर्स क्लब एक गैर-नाफामुखी शैक्षिक संस्था हो, जसले सार्वजनिक वक्तृत्वकला, प्रभावकारी सञ्चार तथा नेतृत्व विकासका लागि विश्वभर अवसर प्रदान गर्दै आएको छ। 

कार्यक्रममा जिल्ला ४१ का डिभिजन C डाइरेक्टर सन्ध्या राठी, एरिया C3 डाइरेक्टर अंकुश अधिकारी (काठमाडौं) तथा Area C4 डाइरेक्टर अञ्जु प्रधान (धरान) , वीरता जेसिसका अध्यक्ष एलसी श्रेष्ठ, कर्मचारीका समूह झापाकी अध्यक्ष लीला अनमोल, रेडियो विराटका सञ्चालक देवेन्द्र प्रसाईँ, शब्दपत्र डट कमका उद्धव पुरी, मोफसल अनलाइनका भरत प्रसाई लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा क्लबले वर्षभर उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई विभिन्न वार्षिक अवार्डद्वारा सम्मान गरेको थियो। साथै विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, लक्की ड्र, सरप्राइज गिफ्ट ह्याम्पर र स्वादिष्ट हाई-टि को समेत व्यवस्था गरिएको थियो।

oplus_1048576