मेरो ईश्वर हरेक पल समानता आरतिमा मुग्ध छ
मन्दिरको गर्भगृहभित्र सुनौलो आसनमा विराजमान
एउटा ईश्वर त्यहाँ पनि छ
जो चम्किलो वस्त्र पहिरिएर रगतकाे शुद्धता नाप्छ।
त्यो, ‘उसको’ ईश्वर हो।
’उसको’ ईश्वर अहम् बोल्छ
मन्त्रहरूको शक्तिलाई भुलेर
ऊ आफ्नै कर्कश ध्वनिको कोलाहलभित्र आत्मप्रशंसा खोज्छ
र ढोकामा आएको श्रद्धालु भक्तलाई जात र कुलको कडी लगाउँछ।
ऊ पर्खालभित्र कैदी भएर स्वर्णमुकुटको भारले थिचिएको छ
र आफूलाई प्रकृतिभन्दा ठूलो ठान्छ।
त्यसैले ऊ विभेद गर्छ
यसलाई भित्र आउन देऊ, उसलाई बाहिरै छोडिदेऊ!
तर, मेरो ईश्वर?
मेरो ईश्वर त यो खुला आकाशमुनि ज्यामीको पसिनामा मुस्कुराउँछ।
तिनीहरु जो मेरो ईश्वरलाई पनि
मन्दिरको चार पर्खालभित्र ‘नजरबन्द’ गर्न खोज्छन्
तर मेरो ईश्वर त ढुङ्गाको कसम तोडेर
विभेदबाट मुर्छा परेकाहरुको आँसु पुछ्न सडकमा ओर्लियो।
मेरो ईश्वर समानता बुझ्छ।
ऊ चढाएको सुनको तौल हेर्दैन
ऊ त भोकाएको पेटको आर्तनाद सुन्छ।
‘उसको’ ईश्वरले मान्छेलाई सानो र ठूलोमा बाँड्यो,
मेरो ईश्वरले हरेक हृदयमा एउटै धड्कन फुकिदियो।
‘उसको’ ईश्वर भव्य अपव्याख्याको धुँवामा निसास्सिएको छ
मेरो ईश्वर हरेक पल समानता आरतिमा मुग्ध छ
मेरो ईश्वरको आरति
सबैको आँखामा आत्मसम्मान बनेर बलेको छ।
उसको ईश्वर अहङ्कार छ
मेरो ईश्वर अहङ्कारको नजरबन्दबाट मुक्त भएर
मानवताको काखमा, समानताको गीत गाइरहेछ।
कवि लीला अनमोल बिर्तामोड झापा।

