बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद राना मगरको अनुरोध
सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् ।
‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।
साथै, उनले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।
‘इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनुपर्छ । तर त्यहाँबाट आधा घण्टामा बिर्तामोड आइपुगिन्छ,’ उनले भनिन्, ‘हामीले यस्तो किसिमको एकदमै रिस्कमा परेका, चुनौतीपूर्ण एउटा योजना पनि नपरेको देख्दाखेरी म छक्कै परेको छु ।’


