धरतीपुत्रीको विस्थापन
अस्मिता विष्ट धरान, सुनसरी

स्निग्ध थियो ताल
त्यही स्निग्ध तालझैँ थियो उसको मुहार ।
नाँगीहरूमा ऊ—
खाली खुट्टा दौडन्थी
फोक्सोभरि भर्थी हरियो बतास
र, लालुपाते झैँ रातो गालामा
बोकेर हिँड्थी, एउटा सिङ्गै पृथ्वी ।
देउरालीमा
पाती चँढाएर
ऊभिरहन्थी निमग्न
तमोरमा बगाउँथी
हृदयका सारा पीडा र सुस्केराहरू
निलो दहमा डुबुल्की लगाएर
झन्कृत पार्थी आफूलाई ।
सल्लीपिरमा लडीबुडी गर्थी
रूखका पातहरू बाट शीत पिउँथी
निहारिरहन्थी आफ्नै वयस्क छाया
अनि गाउँथी गीत जूनको उज्यालो टिपेर ।
गाउमा शहर पसेपछि… !
देउरालीका
देवताहरू जुलुसमा गएपछि
अपुरो भएको छ भाकल / अधूरो भएको छ कसम
उत्पात बढेको छ मनको मैलो
नदी नहर बनेपछि
विझाइरहन्छ छाती अचेल
गुँरास फुल्ने पाखामा धुँवा फुलेपछी।
तलाउमा
देखिन छाडेको छ
मानिसका तमाम् अनुहारहरू
वनमा सुनिन छोडेको छ चराहरूको कुहुकुहु ।
खडेरीले उब्जाएको
पट्यारलाग्दो ट्वार-ट्वारमा
विलाएको छ मिस्री घोलिएजस्तो हाँसो
हराएको छ एकाएक नाँगीहरूमा उन्मुक्त दौडिने गोडा ।
काँचका पर्दाबाट
परावर्तित भइरहने निलो प्रकाशमा
विलाएको छ आँखामा बगिरहने सपनाको नदी
शहरको कर्कश ध्वनिमा
हराइगएको छ झरनाको सङ्गीत ।
उफ् !
खोसिदिएको छ यो पुरुष समयले
वतासको स्वाद/ खोलाको कलकल/ र, हिमालको सौन्दर्य ।
