जन्मदिनमा आज मानव सेवा आश्रममा आश्रित १०५ जना व्यक्तिलाई मिष्ठान्न भोजन
मेचीनगर –

मेची माहाकाली बुहारी संयुक्त आवाज, झापा जिल्ला सह–संयोजक रोशनी खनाल अधिकारीको जन्मदिनको अवसरमा आज मानव सेवा आश्रममा आश्रित १०५ जना व्यक्तिलाई विशेष बिहानको भोजन गराई सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थापक तथा इन्टरनेशनल अध्यक्ष यमन शर्मा पौडेलको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी मेचीनगर–१० का जनप्रतिनिधि विशाल कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा झापा जिल्ला संयोजक गंगा भट्टराई, जिल्ला उपाध्यक्ष अम्बिका मैनाली, जिल्ला सह–सचिव आरजु शर्मा, जिल्ला सदस्य प्रमिला उप्रेती तथा जिल्ला सदस्य निर्मला नेपाललगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
झापा जिल्ला समितिले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्दै आएको जनाएको छ। जिल्ला समितिका सम्पूर्ण पदाधिकारीहरूले जन्मदिनको अवसरमा सहयोग रकम संकलन गर्ने, सम्बन्धित व्यक्तिले पनि थप सहयोग गर्ने र त्यस रकमबाट मानव सेवा आश्रम तथा आवश्यकता भएका विभिन्न स्थानमा सहयोग गर्दै आएको अध्यक्ष जानकारी दिनुभएको छ।
मानवता, सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै जन्मदिनलाई सेवामूलक कार्यसँग जोड्ने यस अभियानको सहभागीहरूले प्रशंसा गरेका छन्। यस्ता कार्यक्रमले समाजमा सहयोग, सद्भाव र सेवाभावको सन्देश फैलाउने विश्वास व्यक्त गरिएको छ।

