माटोको बासस्थान
स्व.सुमन शर्मा जमर कट्टेल प्रति समर्पित

यो नश्वर चोला
एउटा अस्थायी शिविर त हो
जहाँ केही बेरका लागि
सासले आउजाउ गर्ने अनुमति पाएको छ।
पञ्चतत्वको उधारो जगमा ठिङ्ग उभिएको
यो माटोको पर्खाल
घामसँगै तातिन्छ
पानीसँगै गल्छ
अनि समयको सुस्त चालमा बिस्तारै आफ्नै उत्पत्तितिर ढल्छ।
हामी यसैलाई शाश्वत सम्झेर
अहङ्कारको वस्त्र पहिरिन्छौँ
मायाको तन्तुले बनेको यही कमजोर धागोमा
अनन्त जन्मको आश बाँध्छौँ।
तर,यो जिन्दगी एउटा पोशाक मात्र हो
जसलाई आत्माले
रङ्गमञ्चको एउटा दृश्य सकिएपछि
चुपचाप फेरिदिन्छ।
जसरी नदीको किनारमा अडिएको डुङ्गा
पानीकै पर्खाइमा हुन्छ
त्यसरी नै यो देह
माटोकै स्पर्शको प्रतीक्षामा छ।
भित्र चम्किरहेको जोति
न कहिल्यै बल्छ, न कहिल्यै निभ्छ
त्यो असीम चेतनाको अंश हो
जसलाई यो जीर्ण पिँजडाले
केही समयका लागि मात्र थुनेको छ।
जब अन्तिम हावाको स्पर्शले
यो पर्दा खस्नेछ
माटो माटोमै बिलाउनेछ
आकाश आकाशमै मिसिनेछ।
अनि बाँकी रहनेछ
एउटा निःशब्द सन्नाटा
जसले भनिरहेको हुनेछ:
“प्रस्थान नै आगमनको ढोका हो
र नाश नै अमरताको सुरुवात।”
कवि लीला अनमाेल ,बिर्तामोड
