झापाको हल्दीबारी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको विवत्स हत्या गरेका छन्। हल्दीबारी गाउँपालिका वार्ड नम्बर ५ धनुषपोखरी छेउमा मंगलबार राति सामान्य विवाद हुँदा श्रीमानले धारिलो दाउ प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। स्थानीय गोकर्ण भण्डारी भनिने गणेशले आफ्नी ३३ वर्षीय श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउप्रहार गर्दा उनको घटनास्थल नै मृत्यु भएको हाे।

स्थानीय बासिन्दाका अनुसार भण्डारी दम्पति बीच विगत लामो समयदेखि दिनदिनै झगडा हुँदै आएको थियो। मंगलबार राति ९ बजेतिर गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएका थिए। सोही क्रममा दुई पक्ष बीच विवाद बढ्दै जाँदा आवेशमा आएर उनले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेका थिए। श्रीमतीको हत्या गरिसकेपछि आरोपी गोकर्ण आफै घटनास्थलबाट केही उत्तरतर्फ रहेको स्थानीयको घरमा पुगेर मैले श्रीमतीलाई मारिदिए भनी स्वीकार गरेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ स्थानीय प्रहरीको सक्रियतामा आरोपी भण्डारीलाई तत्कालै नियन्त्रणमा लिएको थियो। 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। मृतक उर्मिलाका एक छोरी र एक छोरा नाबालक रहेका छन् आमाको हत्या र बुबा प्रहरीको नियन्त्रणमा परेपछि ती नाबालक बालबालिकाहरु अहिले बिचल्लीमा परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ