माेरङ काे बेलबारी र सुन्दरहरैँचा क्षेत्रका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको पदचाप र योगदानलाई समेटिएको जीवनीपरक कृति ‘जीवनकथा अग्रजका’ लोकार्पण गरिएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा शुक्रबार एक भव्य समारोहबीच सो कृतिको सार्वजनिक गरिएको हो ।

​कवि एवं सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक केशु विरहीद्वारा लिखित यस पुस्तकको लोकार्पण गरिएको हो । कृतिमा यस क्षेत्रको सामाजिक तथा ऐतिहासिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अग्रजहरूको सङ्घर्ष र सफलताको कथालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा कृतिको समीक्षा गर्दै प्रा.डा. भीम खतिवडा र लीला अनमोलले समाजका अग्रजहरूको जीवनी लेखिनु भनेको इतिहासलाई जीवन्त राख्नु भएको बताउनुभयो । वक्ताहरूले बेलबारी र सुन्दरहरैँचाको सामाजिक धरातल बुझ्न यो कृति सन्दर्भ सामग्री बन्ने धारणा राख्नुभयो ।

​कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कोसी साहित्य-कला परिषद्का अध्यक्ष चिरिञ्जीवी काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शारदा दाहाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

​भाषा, साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई उत्सवमय बनाएको थियो । आयोजकले यस कृतिले समाज निर्माणमा योगदान पुर्‍याउने अग्रजहरूप्रति सच्चा सम्मान व्यक्त गरेको जनाएको छ ।

कार्यक्रमको सञ्चालन नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।