​बाँसुरीका प्वालहरूमा निसास्सिएको सासमा
एउटा बिरही सङ्गीत मूर्च्छित छ
जसलाई कसैको औंलाहरूले छोएको छैन
जसलाई कसैको ओठले फुकेको छैन।
​हो, जीवन त्यही नगाइएको धुन हो !
​तारहरू कसिइसकेका छन्
अन्तरा र स्थायीका पानाहरू तयार छन्
तर, समयको मञ्चमा अझै एउटा आलाप बाँकी छ।
हरेक हृदयभित्र एउटा यस्तो राग छ
जो न त ओठबाट ओर्लियो
न त तारहरूमा कम्पित भयो
त्यो त बस्, मौनताको गहिराइमा गुञ्जिरह्यो।
​हामीले गाएका गीतहरू त केवल अङ्कहरू हुन्
संसारले सुनेका धुनहरू त केवल कोलाहल हुन्
सच्चा जीवन त त्यो अनौठो धून हो
जो सुस्केराहरूमा लुकेको छ
जो आँसुका थोपाहरू झर्नुअघिको कम्पनमा छ
र जो हाँसोको गल्छीमा अल्झिएर बसेको छ।
​मृत्यु त केवल त्यो कन्सर्टको अन्त्य हो
जहाँ दर्शकहरू उठेर हिँड्छन्
तर, आत्माको कुनामा त्यो नगाइएको धुन
अर्को कुनै ओठको प्रतिक्षामा
अनन्तकालसम्म गुञ्जिरहन्छ।

लीला अनमोल साहित्यकार ,बिर्तामोड झापा