झापा गाेल्ड कपमा एपिएफ द्वारा बागमती युथ क्लब ४–३ ले पराजित

अर्ना छैटौँ झापा गोल्ड कपको सेमिफाइनल एपिएफ प्रबेश गरेकाे छ।
एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।
खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ५४ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।
मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

