बिबेक केशरी प्रसाईं बिर्तामोड ,झापा

बाल्यकालका सबभन्दा हरिया पाना धानखेतमै खुल्थे । त्यहीँ, जहाँ आकाश पनि हरियो देखिन्थ्यो र हावामा धानको बास्ना मिसिएको हुन्थ्यो । गाउँको खेत, गोरु, कुल्यारी, अनि हिलोमा खेलिँदा सिकिएका श्रमका संस्कारहरू केवल खेतीका कथा थिएनन् -जीवन बाँच्ने तरिकाका पाठहरू थिए । आज ती हिलोमैलो खेतहरू सम्झँदा लाग्छ, हामीले केवल खेत मात्र गुमाएका छैनौँ, हामीले हाम्रो पहिचान पनि बिस्तारै गुमाउँदैछौँ ।

हिलोभित्रको बाल्यकाल

धानखेत हाम्रो बालपनको खेलमैदान थियो । आलीकान्ला बनाउने, कुल्यारीमा पानी बगाउने, गोरु नार्ने, हेङ्गा लगाउने -यी सबै रमाइला कामहरू हामीलाई प्रकृतिसँग जोड्थे । खेतमा पसिना बगाउँदै हामीले बिउ रोप्ने, गोड्ने र सम्याउने क्रममा धैर्य, श्रम र सामूहिकता सिक्यौँ । रोपाइँको बेला गुञ्जिने गीतहरू र हाँसोका छ्याँकहरू आज पनि स्मृतिमा गुञ्जिरहेछन् -“रोपौं धान माया रोपौं…”
त्यो स्वर केवल गीत थिएन, त्यो त गाउँको आत्मा थियो ।

मिहिनेतको सौन्दर्य र आत्मनिर्भरता

धान पाक्ने मौसम आउँदा खेतको हरियाली सुनौलो बन्थ्यो । मुठा पार्ने, खलो बनाउने, धान झाँट्ने, परालको कुन्यु बनाउने -यी सबै श्रमका स्वरूपहरूमा आनन्द मिसिएको हुन्थ्यो । कलिलो धानको चिउरा, नयाँ धानको न्वागि -यी स्वादमा केवल अन्न होइन, हाम्रो आत्माको तृप्ति मिसिएको हुन्थ्यो । सानो खेत भएकाले पुष-माघपछि नयाँ धान खानु सामान्य कुरा थियो । पुरानो धान खानु भनेको सम्पन्नताको प्रतीक मानिन्थ्यो । त्यो आत्मनिर्भरता नै हाम्रो समाजको आत्मगौरव थियो ।

आधुनिकता र विस्मृतिको यथार्थ

आजका धेरै युवाहरूलाई भात कहाँ फल्छ भन्ने पनि थाहा छैन । अचम्म लाग्छ, थाहा नभए पनि जीवन चलिरहेछ । तर त्यो बाँचाइ हिलोबिनाको, माटोबिनाको बाँचाइ हो -जहाँ खेतीको सुगन्ध हराइसकेको छ र पसिनाको मूल्य बजारको मुल्यसूचीले नापिन्छ ।

विदेशिएका सन्तानहरूलाई खेतको कथा अब केवल तस्बिरमा भेटिन्छ । गाउँमा गोरुका बैंसी हराएका छन्, कुल्यारीमा पानीको स्वर मौन छ । धानखेतका सारा गीतहरू अब मोबाइलका म्यूजिक प्लेयरमा हराइसकेका छन् ।

स्मृतिको भकारी र जीवनको पाठ

धेरैलाई थाहा नहोला -धानखेत केवल खेत थिएन, त्यो त हाम्रो गुरु थियो । हिलोमा धसिएका खुट्टाले हामीलाई विनम्रता सिकायो, घामले पोलिएको छालाले सहनशीलता ।
त्यही खेतले सिकायो -“फल खानुअघि पसिना बगाउनुपर्छ ।” र आज त्यो बोध नै हराउँदै गएको छ ।

साँचो सुन्दरता त माटोमा हुन्छ, जहाँ जीवन अंकुरिन्छ, बाँच्ने आशा पलाउँछ । धानखेतको त्यो हरियालीमा आत्माको हरियाली पनि थियो ।

निस्कर्ष

जीवन पनि धानखेतजस्तै हो -जहाँ बिउ छर्ने धैर्य चाहिन्छ, रोप्ने मिहिनेत, काट्ने आँसु, र अन्ततः न्वागिको मिठास -फलको आनन्द ।

अब जब हावामा धानको गन्ध आउँछ, मन फेरि बाल्यकालमा फर्कन्छ, र मुटु भन्छ -“धानखेतमै त म हुर्किएको थिएँ ।”