विवेक केशरी  प्रसाई , बिर्तामोड झापा

नेपालमा दसैं केवल एउटा चाड होइन -यो सँगै भेला हुने परम्परा हो । राज्यका उच्च पदस्थ व्यक्तिहरू, चाहे राजतन्त्रकालका राजा हुन् वा गणतन्त्रकालका राष्ट्रपति-प्रधानमन्त्री, सधैं दसैंलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका छन् । दरबारमा हुने औपचारिक टीका-जमरा वितरण कार्यक्रम, प्रधानमन्त्री निवासमा हुने शुभकामना आदानप्रदान, राष्ट्रपति भवनमा हुने समारोह -यी सबैले चाडलाई “राष्ट्रिय उत्सव”को रूप दिएका थिए । तर यसपटकको दसैं अर्कै छ ।

आन्दोलनको घाउ र नमनाउने निर्णय

भदौको तेस्रो सातादेखि जेनजी पुस्ताले गरेको आन्दोलनले मुलुकलाई स्तब्ध बनाएको छ । भ्रष्टाचारविरुद्धको स्वर, सामाजिक न्यायको माग, र असमानताविरुद्धको विद्रोहले राजधानीदेखि गाउँसम्म धुवाँ-आगाको दृश्य ल्यायो । पसलहरू जले, सडकहरू बिग्रिए, संरचनाहरू ढले । सरकार र विपक्षबीचको आरोप-प्रत्यारोपले घाउलाई अझ गहिरो बनायो ।

यस्तो अवस्थामा उच्च पदधारीहरूले यसपटकको दसैं नमनाउने निर्णय गरेका छन् ।

राजाको वक्तव्य :

“राजपरिवारले दसैंलाई परम्परा र संस्कृतिको मेरुदण्डका रूपमा मान्दै आएको छ । तर जनता आक्रोशित छन्, सडकमा रगत बगेको छ, भविष्य अनिश्चित छ । यस्तो घडीमा दरबारले उत्सव मनाउने कुरा नागरिकको घाउमाथि नुन छर्कने जस्तै हुनेछ । त्यसैले यो वर्ष राजपरिवार मौन प्रार्थनामा बस्नेछ ।”

प्रधानमन्त्रीको वक्तव्य :

“सरकारका लागि चाड-पर्वभन्दा ठूलो चाड नागरिकको पीडा निको पार्नु हो । आन्दोलनमा घाइते भएका युवाहरू, जलेका पसलहरू, बेरोजगार बनेका मजदुरहरूको दुःखलाई नजरअन्दाज गरेर भोज गर्नु नैतिक अपराध हुन्छ । त्यसैले प्रधानमन्त्री निवासमा हुने टीका-जमरा वितरण कार्यक्रम यो वर्ष रोकिएको छ ।”

राष्ट्रपतिजीको वक्तव्य :

“राष्ट्राध्यक्षको जिम्मेवारी केवल औपचारिकता होइन, जनताको मनोविज्ञानलाई बुझ्नु पनि हो । जब सडकमा आक्रोश चिच्याइरहेको छ, त्यतिबेला रंगीन बत्ती बालेर उत्सव मनाउनु राष्ट्रको आत्मामा धक्का दिनु हो । यसकारण, राष्ट्रपति भवन यसपटक मौन श्रद्धाञ्जलीको प्रतीक हुनेछ ।”

राजनीतिक सन्देश र समाजमा प्रभाव

यस किसिमको निर्णयलाई केवल “कार्यक्रम स्थगित” भनेर पढ्नु पर्याप्त छैन । यसको राजनीतिक र सामाजिक सन्देश गहिरो छ ।

१. सत्ताप्रति जनताको असन्तोष स्वीकारोक्ति:
जब प्रधानमन्त्री आफैंले उत्सव रोक्छन्, त्यो नागरिकको पीडालाई औपचारिक मान्यता दिनु हो । यो सन्देश स्पष्ट छ -देश सामान्य अवस्थामा छैन ।

२. राजनीतिक पूँजीको जोखिम:
उत्सवमा भाग नलिनु एक किसिमको राजनीतिक जोखिम पनि हो । किनभने चाड-पर्वमा उत्सव मनाउने अधिकार नागरिकले “साँस्कृतिक सम्पत्ति ठान्छन् । तर जब नेताहरू आफैं टाढा रहन्छन्, यसले जनतालाई सोच्न बाध्य पार्छ -के साँच्चै देश संकटमा छ ?

३. सामाजिक आत्ममन्थनको अवसर:
समाजशास्त्रीय दृष्टिले, जब उत्सव स्थगित हुन्छ, मानिसहरू व्यक्तिगत स्तरमा मात्रै होइन, सामूहिक स्तरमा पनि आत्ममन्थन गर्छन् । यसपटकको दसैंले त्यो अवसर दिएको छ -“के हामी केवल मासु, कपडा र रमाइलोमा मात्र रमाउने हो, वा भ्रष्टाचारविरुद्धको पीडालाई पनि साझा बनाउने हो ?”

 

ऐतिहासिक परिप्रेक्ष्य

यो पहिलो पटक होइन जब नेपालमा उत्सव रोकिएको हो ।

२०५८ सालमा राजदरबार हत्याकाण्डपछि दरबारमा दसैं औपचारिक रूपमा स्थगित गरिएको थियो ।

२०७२ सालको भूकम्पपछि पनि धेरै ठाउँमा दसैंलाई “शोकदशा” स्वरूपमा मनाइएको थियो ।

तर यो वर्षको स्थगन फरक छ -यो केवल प्राकृतिक वा पारिवारिक त्रासदीका कारण होइन, जनताको असन्तोष का कारण आएको हो ।

निष्कर्ष : मौन उत्सवको अर्थ

यसपटकको दसैं औपचारिक रूपमा रोकिए पनि, यसको मौनता नै एउटा ठूलो आवाज हो । त्यो आवाज भन्छ -देशलाई अब रमाइलो भन्दा बढी उपचार चाहिएको छ ।

राजा, प्रधानमन्त्री, राष्ट्रपति -सबैको वक्तव्य एउटै सन्देशमा आइपुगेको छ:
“राष्ट्रिय उत्सवभन्दा ठूलो कुरा जनताको विश्वास हो । त्यो विश्वास पुनःस्थापित नगरेसम्म कुनै पनि चाड पूर्ण हुँदैन ।”