दीर्घायु राष्ट्र : जापानको पाठ र हाम्रो भविष्य
बिबेक केशरी प्रसाईं बिर्तामोड
जापानमा अब ९९ हजारभन्दा बढी मानिस १०० वर्षभन्दा माथि पुगेका छन् । यो केवल तथ्याङ्क होइन, समयसँगको दौडमा मान्छेको विजय हो । जीवनको घडी साधारणतया ६०-७० वर्षमै थाक्छ, तर जापानीहरूको घडी भने शताब्दी नाघेर पनि टिक-टिक गर्दैछ ।
यो दृश्य हेर्दा लाग्छ -मानव जीवन एउटा खोल हो, जसलाई जीवनशैलीले भरिन्छ, संस्कृतिले रंगिन्छ र स्वास्थ्यले टाँसिन्छ ।
दीर्घायु : वरदान कि चुनौती ?
जापानको यो कीर्तिमानलाई वरदान पनि भनिन्छ, चुनौती पनि ।
वरदान यस अर्थमा कि, वृद्धहरू समाजका ज्ञानको खानी हुन् । उनीहरू इतिहासका साक्षी, अनुभवका पुस्तक र परिवारका स्तम्भ हुन् ।
तर चुनौती यस अर्थमा कि, जब ९९ हजारभन्दा बढी मानिस १०० वर्ष पार गर्छन्, तब पेंशन कोष चर्किन्छ, युवाको काँध भारी हुन्छ, र “काम गर्ने पुस्ता” भन्दा “बाँच्ने पुस्ता” बढ्छ ।
जीवनको लम्बाइ बढ्नु भनेको कहिलेकाहीँ जीवनको गह्रौं बोझ पनि हो ।
रहस्य के हो ?
जापानीहरू किन यत्रो लामो बाँच्छन् भन्ने प्रश्नको उत्तर जीवनशैलीमै छ ।
समुद्रजस्तो खानपान : माछा, हरियो तरकारी, चामल र सोयाको साधारण तर पोषिलो परिकार ।
बगैंचाजस्तो दिनचर्या : बिहानै उठेर हिँड्ने, शरीरलाई श्रमसँग जोड्ने ।
आत्माको अनुशासन : ध्यान, योग र आत्म-संयम ।
समाजको दृष्टि : बुढ्यौलीलाई बोझ नभई सम्मानको आसनमा राख्ने ।
संक्षेपमा भनौँ भने -उनीहरू जीवनलाई दौड होइन, बगैंचामा फुल्ने बोटजस्तै पाल्छन् ।
मृत्यु र जीवनको सन्तुलन
दार्शनिक दृष्टिले हेर्ने हो भने, १०० वर्ष पार गर्नु भनेको जीवनले मृत्युलाई धोका दिएको जस्तो लाग्छ । तर सत्य के हो भने, मृत्यु कहिल्यै हराउँदैन -उसले केवल पर्खने कला सिक्छ ।
जापानी बुढाबुढीहरू मृत्युको छायामा पनि शान्त, स्थिर र धैर्यवान देखिन्छन् । मानौं, उनीहरूको जीवन एउटा लामो कविता हो, जसको अन्तिम पंक्ति अझै लेखिन बाँकी छ ।
नेपालका लागि ऐना
नेपालमा औसत जीवन प्रत्याशा करिब ७१ वर्ष छ ।
हामीले जापानबाट सिक्ने पाठ धेरै छन् :
– खानपानलाई शुद्ध र सन्तुलित बनाउनुपर्नेछ ।
– स्वास्थ्य सेवा सबैको अधिकार बन्नुपर्नेछ ।
– वृद्धलाई बोझ नभई आशिर्वादको रूपमा हेर्ने संस्कार पुनर्जीवित गर्नुपर्नेछ ।
जापानको बगैंचामा सयौँ वर्ष पुराना रूखहरू जस्तै, हाम्रो समाजमा पनि सयौँ वर्ष पुराना मानिसहरू बसून् -यो हाम्रो पनि चाहना हुनसक्छ ।

