अर्जुनधारामा वडा अध्यक्षहरु ले नगरपालिका बैठक बहिस्कार गर्ने निर्णय
अर्जुनधारा नगरपालिकाका नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले नगरपालिकाको कुनैपनि बैठकमा सहभागिता नजनाउने निर्णय गरेका छन्।
यो निर्णय वडा नं. ५ का अध्यक्ष गिताराज खड्कामाथि सोही वडाका एक निर्वाचित सदस्यले जातीय भेदभावको आरोप लगाएको घटनालाई लिएर नगरप्रमुख बलदेव सिंह गोम्देनले स्पष्ट आधिकारिक धारणा नबनाएको भन्दै बैठकमा सहभागिता नजनाउने निर्णय गरिएको हो। नेपाली कांग्रेस अर्जुनधाराका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रले सञ्चारमञ्चसँगको कुराकानीमा कांग्रेस नगर कार्यसमितिको निर्देशनअनुसार यस्तो निर्णय लिइएको पुष्टि गर्नुभयो। यसअघि वडाका सदस्यले वडा अध्यक्ष विरुद्ध जातीय विभेदको आरोप लगाउँदै इलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएको बताइएको छ। पत्रकार भेटघाट मार्फत सार्वजनिक रूपमा जानकारी दिइएको यस घटनाले स्थानीय रुपमा राजनीतिक तनाव चुलिएको देखिन्छ। वडा अध्यक्ष गिताराज खड्काले आफू राजनीतिक प्रतिशोध स्वरूप निराधार आरोपको सिकार भएको बताउँदै दोषारोपणको खण्डन गर्नुभएको छ। उता, नगर प्रमुख गोम्देन पनि नेकपा एमालेबाट निर्वाचित हुनु भएका कारण उनले यस विषयमा चासो नदेखाएको भन्दै आलोचना हुन थालेको छ। नगर प्रमुखको मौनताले समस्याको समाधानभन्दा पनि चरित्र हत्या गर्ने प्रयत्नलाई प्रोत्साहन गरिरहेको आशंका कांग्रेस पक्षको छ। स्थानीय तहको यस्तो अन्तरद्वन्द्वले विकास निर्माणको प्रक्रिया प्रभावित हुने खतरा औंल्याउँदै राजनीतिक संवाद र समाधानको खाँचो झनै देखिएको छ।
