एमालेद्वारा पटक-पटक दिइएको धोखा र बेइमानीका कारण झापामा सत्तासाझेदार दलबीचको सहकार्य हुन नसक्ने चेतावनी नेपाली कांग्रेसले दिएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरसमितिको आइतबार (२२ असार) बसेको आकस्मिक बैठकले नेकपा एमालेसँगको राजनीतिक संयन्त्रमा उप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो ।

सरकार संयुक्त भएपनि एमालेले एकलौटी शासन चलाइ नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नगरले यस्तो निर्णय गरेको नगरसभापति हेमराज खरेलले जानकारी दिए ।

नेकपा एमालेका नेताहरुले बोलीमा एउटा कुरा र ब्यवहारमा अर्कै काम गर्दै आएपछि दुई दलको जिल्लास्तरीय राजनैतिक संयन्त्रको बैठक समेत लामो समयदेखि बस्न सकेको छैन ।

पछिल्लो समय अर्जुनधारा–५ का रीता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सिमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष गीताराज खड्काविरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरिएकोप्रति नेपाली कांग्रेस अर्जुनधाराले खेद प्रकट गरेको छ ।

विवाद मिलाउन गएका वडाध्यक्षलाई आफ्नो पक्ष नलिए जातीय विभेदमा मुद्दा लगाइदिने भन्दै थर्काउँदै आएकी रीता नेपालीले २० असारमा गीताराजसँग मेलमिलाप गर्ने सहमति पनि गरेकी थिइन् । तर, एमाले नेताहरुको दोहोरो भूमिकाका कारण रीताले सिमाना विवादको विषयलाई जातीय विभेदको झुठा मुद्दा लगाएकी हुन् । जिल्लास्तरमा समेत एमाले र काँग्रेसका नेताहरुबीच जातीय विभेद नभएको अवस्थामा विभेद भयो भनेर मुद्दा लगाउन नहुने निष्कर्ष पनि निकालिएको स्रोतले जनाएको छ ।

चुनावदेखि नै विवाद गर्दै आएकी रीता नेपाली वडाध्यक्ष गीताराजलाई अप्ठयारोमा पार्न मौकाको पखाईमा थिइन् । अति विपन्न रैथाने आदिवासी समुदायका सदस्य राजवंशी परिवारको चार धुरमात्र जमिनको सिमानामा बारम्बार किचलो गर्दै आएकी रीता नेपालीले आफू जिल्ला समन्वय समितिको सदस्य भएको र आफ्नो राजनैतिक पहुँच माथिसम्मै रहेको भन्दै गरीब राजवंशी परिवारलाई धम्क्याउँदै आएको पीडित परिवारकी सदस्य सुमित्राले बताएकी छन् ।

हुँदै नभएको जातीय विभेदको मुद्दामा वडाध्यक्षलाई फसाउन एमालेले पुलिसलाई दुरुपयोग गरेकोप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टीको माथिल्लो निकायमा कुराकानी गरेर एमालेसँगको सहकार्य झापामा कठिन मोडमा पुगेको भनी जानकारी गराएको स्रोतको भनाइ छ ।

नगर समितिको बैठकमा कोशी प्रदेश सदस्य राजकुमार बराइली, महासमिति सदस्य दीपक तामाङ, ९ नम्बर वडाध्यक्ष भीष्म मिश्र, ६ नं. वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोला, ५ नं. वडा सदस्य अर्जुन कँडेल, नगर उपसभापति प्रशान्त भण्डारी लगायतले बैठकमा धारणा राख्दै कानूनको दुरुपयगो र झुठा मुद्दा गर्नेहरुका विरुद्ध कानूनी र राजनैतिक संघर्ष गरेर परास्त गरेरै छाड्ने अठोट लिएका थिए ।

एमालेको मनोनित कोटाबाट जिल्ला समन्वय समिति झापाका सदस्य समेत बनेकी रीता नेपालीले नेपाली कांग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष गीताराज खड्कासँगै अत्यन्तै विपन्न सुनिता र सुमित्रा राजबंशीलाई पनि झुठा मुद्दा लगाएको नेपाली कांग्रेस अर्जुनधाराले जनाएको छ ।