झापा । केही दिन अघि झापाको धुलाबारीबाट पक्राउ परेका अर्वौ रुपँयाको हुण्डी कारोबारीहरुसँग प्रहरी अधिकृतहरुकै सोझो समबन्ध रहेको फेला परेको छ । मेचीनगर– १० धुलाबारीमा ब्यापारको आवरणमा हुण्डी कारोबार चलाउँदै आएका केही अभियुक्तसँग नेपाल प्रहरीका एसपीसम्मको सोझो सम्बन्ध रहेको पाइएको हो ।एकसाता अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धुलाबारीमा गिफ्टोरियम नामक पसल मार्फत आयात निर्यातको कारोबार गर्दै आएका अनुज मारु, कबिस मारु, निर्मल राई, दिपेन्द्र खड्का ,महेश पौडेल , अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये अनुज मारु भन्ने ब्यक्तिसँग नेपाल प्रहरीका उच्च अधिकृतको सोझो सम्बन्ध रहेको र त्यसकै आडमा उनिहरुले हुण्डीजस्तो गैहकानुनी काम गर्ने गरेको खुलेको छ ।
मारुको नेपाल प्रहरीका हालका एसपी बिपिन रेग्मी, डिएसपीत्रय राकेश थापा, नरहरी अधिकारी र सुवास बुढाथोकीसँग बिषेश सम्बन्ध रहेको धुलाबारीका एक ब्यापारीले वताएका छन् भने उनिहरुको सामिप्यता पुष्टि नै गर्ने तस्बिर समेत फेला परेको छ । स्मरण रहोस् एसपी रेग्मी साथै डिएसपीद्धय अधिकारी र बुढाथोकी इन्सपेक्टर हुँदाका बखत यसअघि नै इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज भइसकेका प्रहरी अधिकृत हुन् । त्यस्तै हालका डिएसपी राकेश थापा धुलाबारीका इन्चार्ज र जिल्ला प्रहरी कार्यालयमा डिएसपीका रुपमा जिम्मेबारी सम्हालिसकेका ब्यक्ति हुन् ।
प्रहरी स्रोतका अनुसार डिएपी थापा र अन्य प्रहरी अधिकृतहरु झापा आएका बेला समेत यिनै मारुकै घरमा बस्ने गरेका थिए । त्यस्तै उनिहरु मारुकै खर्चमा बिभिन्न स्थान घुम्न गरेका थिए । झापाकै एक पत्रकारका अनुसार डिएसपी थापाले मारुकै खर्चमा चिनको समेत भ्रमण गर्न भ्याईसकेका छन् । यसबाट पक्राउ परेकाहरुको प्रहरीसँगको निकटता प्रष्टिएको छ । यस्तै पक्राउ परेका अनुज मारुसँग भारतिय आधारकार्ड र ४ वटा भारतीय नम्बरप्लेटका साना सवारी समेत रहेको बुझिएको छ ।
यता, मारुसहित पक्राउ परेकाहरुलाई सीआइबीको टोलीले काठमाडौँ लिएर गएको बुझिएको छ । तर, पक्राउ परेको यतिका दिन बितिसक्दा समेत सिआईबिले औपचारिक जानकारी दिएको छैन । पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबारको प्रमाण भेटिएको श्रोतले बतायो । उनिहरुमाथि अदातबाट म्याद थपेर अनुसन्धान भईरहेको बुझिएको छ । यता हुण्डी काराेबारीहरुसँग घाँटी जाेडिएका प्रहरी अधिकारीहरुमाथि कुनै छानबिन शुरु नगरिएकाे सिआईबि स्राेतले बताएकाे छ ।
– सगरमाथा टिभीबाट साभार
