दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्व ६३ करोड ४० लाख ४० हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ ।

नगर उपप्रमुख रेगिना भट्टराईले शुक्रबारको नगरसभामा ५१ प्रतिशत चालु खर्चमा र ४९ प्रतिशत पुँजीगत खर्चसहितको बजेट प्रस्तुत गर्नु भएकाे छ।

आगामी आर्थिक वर्षको बजेटसहित नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्दै उपप्रमुख भट्टराईले यस पटक केहि लोकप्रिय कार्यक्रम समाबेस गरेकी छन् । एक वर्षमा १ हजार विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गराउने, अतिविपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि ‘‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने, गरिबी न्यूनीकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराउने, कार्डमार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिनेलगायतका लोकप्रिय कार्यक्रमलाई नीति तथा कार्यक्रममा समाबेश गरिएको छ । त्यसैगरी असहाय नागरिकको जीवन रक्षाका लागि “सबैका लागि सबै, कोहि एक्लो छैन” कार्यक्रम, महिलालाई स्वरोजगार बनाउन “दमकका नारी विकासमा बराबरी’’ कार्यक्रम सञ्चालन, ७५ बर्ष माथिका नागरिकको घरमै स्वास्थ्य परीक्षण गर्ने, दमक नगरभित्रका सुत्केरी, ५ वर्षमुनिका बालबालिकालाई रगत चढाउनु परेमा ल्याब परीक्षण गरेबापत लाग्ने रकमलाई शोधभर्ना गरी निशुल्क गरिने, सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकाले यस अघि पाउँदै आएको एकमुष्ट ६० हजार रुपैयाँ रकम बढाएर ८० हजार रुपैयाँ पुर्याउनेलगायतका कार्यक्रम यस पटको बजेटमा समावेश गरिएको नीति तथा कार्यक्रम भट्टराईले सार्वजनिक गर्नु भयाे ।

बजेटले नगरपालिकाको सुशासन, आर्थिक समृद्धि, लैङ्गिक समानता, समावेशीकरण, न्यायपूर्ण, सन्तुलित र दिगो पूर्वाधार विकासको परिकल्पना गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गतेसम्ममा नगर प्रमुखलाई सुझाव पेश गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगर प्रमुख रामकुमार थापाले जानकारी दिनु भयाे ।