भारतमा अग्निपथ योजनाविरुद्ध तेलंगानाको सिकन्दरावादमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। 

देशका विभिन्न भागमा भइरहेको विरोधका कारण ३०० भन्दा बढी रेलको आवतजावत प्रभावित भएको छ। विगत तीन दिनदेखि जारी आन्दोलनमा धेरै ठाउँमा रेलवे स्टेशन र रेलमा क्षति पुगेको छ। 

तेलंगाना, बिहार र उत्तर प्रदेशमा प्रदर्शनकारीले रेलमा आगजनी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिहारका १२ जिल्लामा आइतबारसम्म इन्टरनेट सेवा बन्द गरिएको छ। 

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले योजनाबारे शनिबार समीक्षा बैठक बोलाएका छन्। अग्निपथ योजनालाई लिएर देशभर भइरहेको प्रदर्शनलाई लिएर यो बैठक बोलाइएको हो। बैठकमा वायुसेना प्रमुख, नौसेना प्रमुख र डीएमएका अधिकारी सहभागी हुनेछन्।

भारत सरकारले आफ्नो तीनवटै सैन्य अंग जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष अवधिका लागि मात्रै भर्ना खुलाउने ​योजनाविरुद्ध देशभर विरोध चुलिएको हो। ‘अग्निपथ’ नाम दिइएको यो योजनाअन्तर्गत २१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा अवकाश पाउने व्यवस्था गरिएको छ।

भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउने व्यवस्था गरिएको छ। ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन्। तिनले अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन्।