मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ लाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा
राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।
सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।
खेलको १९ आँै मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।
मछिन्द्रले दोस्रो गोल ८० औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।
मलेसियाका लागि एक मात्र गोल खेलको ६० औँ मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।
खेलको ३५ औँ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले वान भर्सेस वान गोल फिनिसिङ गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो । खेलको ८८ औँ मिनेटमा मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर बाहिरिँदा गोल अन्तर तेब्बर बनाउने अवसर गुमेको थियो ।
मलेसियाका डेभिड ओलाएकोे प्रहार मछिन्द्रका गोलकिपर श्रेष्ठले रोक्दा बराबरी गोल गर्न चुकेको थियो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पोष्टमा लागेर फर्किदा मलेसिया खेलमा कम ब्याक गर्न असफल भएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजकको टिम झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ
