झापा ११ एफसीले भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
झापा ११ एफसीले भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो ।
उपाधिसँगै झापा ११ ले ट्रफीसहित २० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो । उपविजेतामा सीमित चर्च ब्वाइज युनाइटेडले १० लाख भारतीय रुपैयाँ पाएकाे छ।
झापालाई जित दिलाउन प्रदिप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदिपले २० औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए ।सन्तोषले ७० औँ मिनेटमा गोल गरेपछि झापाको जित थप सहज बन्यो ।
सन्तोष प्लेयर अफ द म्याच घोषित भए । उनले नगद १० हजार भारतीय रुपैयाँ पाए ।
झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।
क्वार्टरफाइनमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २–१ ले र सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको थियो ।
क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४–० अन्तरले हराउँदै अघि बढेको चर्च ब्वाइजले सेमिफाइनल इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५–४ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता तथा उपविजेतालाई सिक्किमका मुख्यमन्त्री पिएस गोलेलगायतले पुरस्कार वितरण गरेका थिए ।
