कुकुर

….र सम्बन्ध त पारिजातजस्तो रहेछ
फुलुन्जेल सबैको आँखा लाग्ने
झरेपछि अस्तित्व नामेट हुने
सफलताको गुनगान गाउनेहरूले
दु:खले बाँच्नेहरूको कथा
कहाँ लेख्दारहेछन् र कविहरू पनि
बरु कोइलीले गाउँदिरहिछे दु:खको गीत
मलाई मेरी आमाले
दु:ख पर्दा कसैले साथ नदिएको कथा
सुनाइरहनु हुन्छ आज पनि
सगरमाथा आरोहण गरेर फर्किएको आरोहीको
सफलताको अन्तरवार्ता हेरेँ कयौपटक टेलिभिजनमा
तर सुनिनँ कहिले छेउमै पुगेर फर्किएको आरोहीको कथा
कपडा लागाएर इज्जतको अग्लाइ बताउने मान्छे
कहाँ बुझ्दो रहेछ दमाई दाइको हात छेंडेको सियोको व्यथा
नबुझ्दा रहेछन् यी मान्छेहरू
जीवनलाई नजिकबाट चिहाएर
सङ्घर्ष पर्गेल्नेहरुको कथा
शक्तिको उन्माद पोखेर
बहादुरी प्रदर्शन गर्न हतियारको हवला दिनेहरूले
आरनमा खलाँती फुक्नेहरूको पसिना कहाँ सम्झन सक्छ र !
मलाई मान्छेहरु मान्छे जस्तै लाग्दैनन् आजभोलि
कुकुर बफादारीको पर्याय हो भन्छौ भने यदि
उस्ले आफ्नो जिम्मेवारी वहन गर्दछ बुझ,
न रिस छ , न ईर्ष्या छ कसैको
मलाई तिमीभन्दा ज्यादा कुकुर वफादार लाग्छ आजभोलि ।