बिबेक केशरी प्रसाईं बिर्तामोड ,असाेज ३ गते २०८२

संविधान कुनै सामान्य कानुनी कागज होइन, यो राष्ट्रको सामूहिक सम्झौता हो । यसले जनताको पीडा, बलिदान र आन्दोलनलाई कानुनी रूप दिएको हुन्छ । नेपालको संविधान पनि त्यस्तै संघर्षको जगमा जन्मिएको हो । तर दशक लामो यात्रापछि यो प्रश्नले टाउको उठाएको छ -के संविधान केवल कागजको वाचा मात्र बन्यो कि वास्तवमै जनताको जीवनमा उज्यालो छिर्‍यो ?

जेन-जी पुस्ता, जसले संविधान घोषणा हुँदा बाल्यकालमा कान सुनेका मात्र थिए, अहिले मुलुकको सक्रिय शक्ति बनेका छन् । उनीहरूले संविधानको आदर्श कक्षाकोठामा पढे, तर व्यवहारमा पाइनन् । रोजगारीको खोजमा उनीहरू विदेशिन बाध्य भए, शिक्षा र स्वास्थ्यमा असमानता देखे, भ्रष्टाचारको जालोमा घेरिए, अनि नेताको पदासक्ति र स्वार्थप्रवृत्तिले संविधानलाई केवल औपचारिक कागजजस्तो प्रयोग गरेको महसुस गरे । यसैले उनीहरूको आन्दोलन संविधानमाथिको आक्रमण होइन, यसको आत्मालाई जगाउने प्रयास हो ।

संविधानले न्याय, समानता र अवसरको वाचा गरेको थियो । तर व्यवहारमा असमानता उस्तै छ, अवसर अझै सीमित छ, र न्याय शक्तिशालीको हातमा मात्र सीमित भएको छ । यही अन्तरले नयाँ पुस्तामा आक्रोश जन्माएको छ । उनीहरूको भनाइ छ -“हामीले संविधान देख्यौं, तर यसको आत्मा पाएनौं ।”

तर यथार्थ के हो भने संविधान र आन्दोलनबीच विरोधाभास छैन । संविधान बाटो हो, आन्दोलन यात्रा हो । बाटो बिना यात्रा सम्भव छैन, यात्रा बिना बाटो अर्थहीन हुन्छ । जेन-जी आन्दोलन भनेको संविधानलाई पुनः जीवन्त बनाउन गरिएको आह्वान हो । यसलाई अस्थिरताको नाममा खारेज गर्नु संविधानलाई नै कमजोर बनाउने हो ।

संविधानका शब्द स्थिर छन्, तर जेन-जीको आवाज गतिशील छ । जब यी दुई भेटिन्छन्, तब मात्रै परिवर्तन सम्भव हुन्छ । दबाबलाई मात्र खतरा मान्ने होइन, उत्तर दिने हिम्मत नेतृत्वमा हुनुपर्छ । यदि यो पुस्ताको प्रश्नलाई सुनिएन भने संविधान कागजमै सीमित हुनेछ । तर उत्तर दिइयो भने संविधान साँच्चिकै जीवित हुनेछ ।

नेपाल पटक-पटक ढल्दै फेरि उठेको मुलुक हो । रुख हरेक हिउँदमा पात झार्छ, तर वसन्तमा पुनः हरियाली फर्काउँछ । संविधान पनि त्यस्तै हो -यदि हामीले यसलाई जीवनमा लागू गर्न सक्यौं भने यो वसन्तझैँ हरियाली दिनेछ; नभए यो केवल हिउँदको ओइलाएको रुखझैँ हुनेछ ।

अन्ततः संविधान भनेको शासकको सुविधा होइन, जनताको सपना हो । र सपना भनेको केवल कागजमा होइन, जीवनमा पूरा गर्नुपर्ने यात्रा हो । यही हो जेन-जीको माग, यही हो संविधानको आत्मा ।

लेखकको टिप्पणी:

संविधान र जेन-जी आन्दोलनबीच टकराव छैन । टकराव त नेताको पदासक्ति र जनताको अपेक्षाबीच छ । त्यसैले समाधान संविधानलाई जीवन्त बनाउनुमा छ -जसको आवाज नयाँ पुस्ताले बुलन्द रूपमा उठाइसकेको छ ।