आज वाट एसईई परीक्षा शुरु


यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिएका छन्। यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन्। जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।
यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ।
एक सय पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ।
३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यता झापाबाट १५ हजार ८२२ जना सहभागी हुने शिक्षा बिकास तथा समन्वय इकाई झापाले जनाएको छ । परिक्षाका लागि ५७ वटा केन्द्र तोकिएका छन। जसमा ८ हजार १४५ छात्रा र ७ हजार ६७७ जना छात्रले परिक्षा दिने शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख राजकुमार विकले जानकारी दिनु भयाे ।
१६८ वटा सामुदायिक बिद्यालय र ११९ वटा संस्थागत बिद्यालयका बिद्यार्थी सहभागी रहने बताइएको छ । त्यस्तै प्राबिधिक तर्फका छात्रा २३७ र छात्र ३१३ गरी जम्मा ५५० जना, ग्रेडबृद्धि तर्फका छात्रा १८३ र छात्र १३२ गरी जम्मा ३१५ जना, खुल्ला शिक्षातर्फका छात्रा ८९ र छात्र ६६ गरी जम्मा १५५ जना, जेल र हिरासतका ३ जना बिद्यार्थीले एसईई परिक्षा दिने इकाई प्रमुख विकले जानकारी दिनु भयाे।
जिल्ला कारागार झापामा रहेका बिरेन्द्र माबिका एक जना छात्र , श्री माबि बुद्धशान्तिका एक जना छात्र र मेचीनगरको कबिशिरोमणि माबिका हिरासतमा रहेका एक जना छात्र पनि परिक्षामा सामिल हुने उहाले बताउनु भयाे । त्यस्तै झापाबाट यस बर्षको एसईई परिक्षामा एक जना दृष्टि बिहिनसहित शारिरिक अपङ्गता भएका पनि सहभागी रहेका छन।
नियमिततर्फ छात्रा ७ हजार ७२५, छात्र ७ हजार २३२ गरी जम्मा १४ हजार ९५७, प्राबिधिक तर्फका छात्रा २३७ र छात्र ३१३ गरी जम्मा ५५० जना र ग्रेडबृद्धि तर्फका छात्रा १८३ र छात्र १३२ गरी जम्मा ३१५ जनाले एसईई परिक्षा दिने शिक्षा बिकास तथा समन्वय इकाई झापाले जनाएको छ ।