काकडभिट्टा लौकहि सडक ४ लेनकाे बन्ने,पुर्व सिटि सेन्टर देखि पन्चकन्या सम्म ओभर हेड ब्रिज वन्ने

नेपाल सरकारको प्रस्तावित राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको एसियाली विकास बैँकले स्तरोन्नति गर्ने भएको छ । हालको २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने भएको हो ।
सडक एशियन हाइवे स्टेन्ड्रडको हुने बिर्तामोड नगरपालिकाको हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको हो । आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस सडकको बारेमा बिस्तृत जानकारी गराइएको थियो ।
झापा,मोरङ्ग र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पौषसम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुवात देखिनै निर्माणको काम सुरु हुने आयोजनाका वातावरण विज्ञ राजन श्रेष्ठले जानकारी दिए । करिब २८ अर्व १७ करोड रुपैयाँको लगानीमा बन्न लागेको यस सडकको काम ३ वर्ष भित्रमा सम्पन्न हुने जनाइएको छ ।
झापामा यस सडकको भाग ५४.९ किलोमिटर रहेको छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ,ड्रेन सहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टा देखि इटहरीसम्म सुरु हुने जनाइएको छ । यस आयोजनाबाट १२ वटा नगरपालिका,४ वटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वटा वडा प्रभावित हुने सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले बताए । उनले ३ सय मिटर भन्दा लामो पुल रहेको ६ ठाउँमा सिग्नेचर पुल बनाउने योजना रहेको बताए । आयोजनामा काँकरभिट्टा देखि लौकहीसम्ममा साना ठुला गरि जम्मा ३ सय ७७ वटा संरचना हटाइने छ । जसमा बिर्तामोडमा दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन लगायत ७ वटा संरचना हटाइने जनाइएको छ ।
सडकको ३ प्रकारको डिजाइन गरिएको जनाइएको छ । ग्रामिण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धशहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण हुने छ । आयोजनाले काँकरभिट्टा, इट्टाभट्टा,चारआली, बिर्तामोड, दमक,उर्लाबारी ,विराटचोक, इटहरी ,झुम्का लगायतका ९ वटा घनाबस्ती भएको स्थानमा ओभरहेड व्रिज तथा अन्डर पास निर्माण गर्ने जनाइएको छ ।
बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाईं काे अध्यक्षता भएकाे कार्यक्रममा उपप्रमुख वार्ड अध्यक्ष हरु र विभिन्न राजनितीक दलका प्रतिनिधि काे उपस्थिती रहेकाे थियाे।
