बिवेक केशरी प्रसाईं बिर्तामोड

मलाई कुनै राजनीति गर्नु छैन । कुनै पदको आकांक्षा छैन, कुनै गुटको सदस्य बन्नु छैन र कसैको पक्ष लिएर अर्को पक्षसँग लड्नु पनि छैन तर पछिल्लो समय नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा र गगन थापाको नाममा देखिएको तानातान, आरोप-प्रत्यारोप र कार्यकर्ताबीचको विभाजन देख्दा मन भने दुख्छ ।

किनकि मेरो लागि नेपाली कांग्रेस केवल एउटा राजनीतिक पार्टीको नाम होइन । यो एउटा इतिहास हो, एउटा भावना हो र मेरो आफ्नै परिवारको राजनीतिक इतिहाससँग पनि जोडिएको संस्था हो । मेरो बुवाको पुस्ताले विश्वास गरेको पार्टी हो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता नेताहरूले संघर्ष, त्याग, जेल, निर्वासन र अनेक कठिनाइ सहेर निर्माण र जोगाएको पार्टी हो ।

त्यसैले आज कांग्रेसभित्र कसैले आफूलाई “देउवाको” र कसैले “गगनको” भनेर एकअर्कालाई शत्रुजस्तो व्यवहार गरेको देख्दा एउटा प्रश्न उठ्छ -हामी कांग्रेसका हौँ कि कुनै व्यक्तिका ?

शेरबहादुर देउवाको लामो राजनीतिक यात्रा र योगदान छ । त्यसको सम्मान हुनुपर्छ । गगन थापा नयाँ पुस्ताको आशा, परिवर्तन र नेतृत्व पुस्तान्तरणको चाहनासँग जोडिएका नेता हुन् । उनलाई पनि अवसर र सम्मान मिल्नुपर्छ तर देउवालाई सम्मान गर्न गगनलाई गाली गर्नुपर्ने वा गगनलाई अगाडि बढाउन देउवाको सम्पूर्ण योगदान अस्वीकार गर्नुपर्ने आवश्यकता छैन ।

नेतृत्वका लागि प्रतिस्पर्धा होस् । विचारमा बहस होस् । नीतिमा फरक मत राखियोस् । आवश्यक परे नेतृत्व परिवर्तन पनि होस् । लोकतान्त्रिक पार्टीमा यी सबै कुरा स्वाभाविक हुन् तर प्रतिस्पर्धाको अन्तिम परिणाम पार्टी विभाजन हुनु हुँदैन ।

कांग्रेस न देउवाको निजी सम्पत्ति हो, न गगनको । आज नेतृत्वमा को छ र भोलि को आउँछ भन्नेभन्दा ठूलो कुरा संस्था कसरी जोगिन्छ भन्ने हो । व्यक्ति आउँछन्, पदमा बस्छन् र एक दिन जान्छन् तर इतिहास बोकेको संस्था पुस्तौँसम्म रहनुपर्छ ।

पुरानो पुस्ताको अनुभवलाई अपमान गरेर नयाँ कांग्रेस बन्दैन । नयाँ पुस्ताको बाटो रोकेर पनि कांग्रेसको भविष्य सुरक्षित हुँदैन । अनुभव र नयाँ ऊर्जालाई जोड्न सक्नु नै आजको आवश्यकता हो ।

आज कांग्रेसलाई सबैभन्दा बढी चाहिएको कुरा गुटको विजय होइन, एकता हो । जनताको विश्वास फर्काउने राजनीति हो । देशका समस्या समाधान गर्ने स्पष्ट दृष्टिकोण हो । कार्यकर्ताको मन जोड्ने नेतृत्व हो ।

म कुनै नेताको पक्षमा उभिएर अर्को नेतालाई कमजोर बनाउन चाहन्नँ । मेरो चाहना केवल यत्ति हो -बीपीको आदर्श, किसुनजीको सादगी, गणेशमान सिंहको त्याग र हाम्रो अघिल्लो पुस्ताको संघर्षसँग जोडिएको नेपाली कांग्रेस व्यक्तिगत अहंकार र गुटगत स्वार्थका कारण नफुटोस् ।

आज नेतृत्व गर्ने सबैसँग मेरो एउटा सामान्य आग्रह छ-
लड्नुस् विचारमा, प्रतिस्पर्धा गर्नुस् नेतृत्वमा ।
हार-जित स्वीकार गर्नुस्, असहमतिको सम्मान गर्नुस् ।
तर कांग्रेसलाई नफुटाउनुस् ।

मलाई राजनीति गर्नु छैन । कुनै पद पनि चाहिएको छैन तर मेरो बुवा र उहाँहरूको पुस्ताले दुःख गरेर जोगाएको, बीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहहरूले निर्माण गरेको कांग्रेस आफ्नै मानिसहरूको लडाइँले टुक्रिएको हेर्न भने सक्दिनँ ।

नेता फेरिऊन्, नेतृत्व फेरियोस्, पुस्ता फेरियोस् -तर कांग्रेस नफुटोस् ।